विराटनगर,— मोरङको विराटनगर महानगरपालिका वडा नं. १५ स्थित रानी बसपार्क क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको एलईडी किटसहित एक ओम्नी भ्यान नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानी मोरङबाट सप्रनाउ तिलक बहादुर खड्काको कमाण्डमा खटिएको ७ सदस्यीय मोबाइल गस्ती टोलीले दिउँसो करिब १२ः३० बजे भारतबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ३११० नम्बरको ओम्नी भ्यानलाई शंका लागी रोकी चेकजाँच गर्न खोज्दा चालक सवारी साधन छाडी फरार भएका थिए।
पछि भ्यानलाई नियन्त्रणमा लिई गरिएको चेकजाँचका क्रममा डिकीभित्र लुकाइ–छिपाई राखिएको ११ हजार ४५० थान एलईडी किट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामानसहित भ्यानलाई सोही दिन दिउँसो ४ः३० बजे विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ। भन्सार कार्यालयका अनुसार एलईडी किटको मूल्य रु. २ लाख २९ हजार र भ्यानको मूल्य रु. ५ लाख गरी कुल भन्सार दाखिला मूल्य रु. ७ लाख २९ हजार कायम गरिएको छ।





