विराटनगर / राजनीतिमा राजनेतासुलभ गुण आवश्यक हुने मान्यतालाई व्यवहारमा उतार्दै आएकी नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीलाई पार्टीले सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। महिला सशक्तिकरण, सामाजिक सेवा र आर्थिक उत्थानमा लामो समयदेखि सक्रिय चौधरीप्रति पार्टी कार्यकर्तामात्र नभई विभिन्न वर्ग, समुदाय र राजनीतिक धारमा आस्था राख्ने नागरिकको समेत सकारात्मक धारणा देखिन्छ।
तीन दशकदेखि महिला आर्थिक सशक्तिकरण र समाजसेवामा सक्रिय चौधरीले ग्रामीण महिलालाई उद्यमशीलतामा जोड्दै आत्मनिर्भर बनाउने अभियान सञ्चालन गर्दै आएकी छन्। ग्रामिण महिला उत्सुकता विकास मञ्च, फरवार्ड नेपाल र फरवार्ड लघुवित्त वित्तीय संस्थामार्फत उनले देशका ४० भन्दा बढी जिल्लाका तीन लाखभन्दा बढी महिलालाई वित्तीय साक्षरता, सीपमूलक तालिम र लघुवित्त कार्यक्रममा जोडेकी छन्।
गरिब तथा विपन्न समुदायको पक्षमा गरेको योगदानको कदरस्वरूप चौधरी यसअघि बेलायतको वर्ल्ड बुक अफ रेकर्डद्वारा सम्मानित भएकी थिइन्। बेलायतको हाउस अफ कमन्स, वेस्टमिन्स्टरमा आयोजित विशेष कार्यक्रममा ‘समाजको उन्नतिका लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान’ गरेको भन्दै उनलाई सम्मान गरिएको थियो। सम्मानपछि बोल्दै उनले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा समाज रूपान्तरण तथा महिला उत्थान आफ्नो मुख्य उद्देश्य रहेको बताएकी थिइन्।
२०६४ सालको संविधानसभामा विज्ञ सदस्यका रूपमा रही संविधान निर्माणमा योगदान पुर्याएकी चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–३ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गर्दै निर्वाचित भएकी थिइन्। सोही कार्यकालमा उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत बनेकी थिइन्, जहाँ उनले सम्बन्धित क्षेत्रका लागि विभिन्न कार्यक्रम र योजना अघि सारेकी थिइन्।
नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा केन्द्रीय सदस्य (खुला महिलातर्फ) चौधरीले सर्वाधिक मत प्राप्त गर्दै विजयी भएकी थिइन्। अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलबाट उम्मेदवार बनेकी उनले करिब ९२ प्रतिशत मत प्राप्त गरेकी थिइन्।
सामाजिक क्षेत्रमा अग्रमोर्चामा रहेकी चौधरीलाई स्थानीयवासीले महिला आन्दोलनको अगुवा तथा आत्मनिर्भरता प्रवर्द्धन गर्ने नेताका रूपमा चिन्ने गरेका छन्। फरवार्डसँग जोडिएर कहिल्यै सय रुपैयाँ नहुने महिला आज उद्यमी र करोडपति बनेको उदाहरण पनि रहेको उनी बताउँछिन्।
आर्थिक समृद्धि, युवा स्वरोजगार, व्यावसायिक कृषि र स्थानीय विकासलाई मुख्य चुनावी एजेन्डा बनाउँदै चौधरी पुनः चुनावी मैदानमा छिन्। सुनसरी–३ लाई विकास र आर्थिक दृष्टिले पछाडि परेको क्षेत्रका रूपमा उल्लेख गर्दै उनले आधुनिक कृषि प्रणाली, चक्लाबन्दी र नगदे बालीमार्फत जनताको जीवनस्तर उकास्न सकिने बताएकी छन्।
‘राजनीतिमा लागेर कुनै व्यक्तिगत लाभ लिने उद्देश्य छैन, जनताको जीवनस्तर सुधार्नु नै मेरो लक्ष्य हो,’ चौधरी भन्छिन्। क्षेत्रको दिगो विकास र आर्थिक सशक्तिकरणका लागि आफू प्रतिबद्ध भएर अघि बढ्ने उनको भनाइ छ।





