विराटनगर, १३ माघ । पूर्वाञ्चल विश्वविद्यालयले दोस्रो संस्करणको अन्तरराष्ट्रिय सम्मेलन (पियु–आइकन) आयोजना गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर मोरङको गोठगाउँमा आयोजना हुने उक्त सम्मेलन आगामी माघ २९ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने भएको हो ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सम्मेलनबारे जानकारी दिइएको हो । ‘हिमालयको भविष्यको परिकल्पनाः दिगोपन र विकासको बाटो’ विषयमा केन्द्रित सम्मेलनमा नेपाल, भारत, नर्वे, युक्रेन, थाइल्यान्ड, दक्षिण अफ्रिका, बङ्गलादेश, अमेरिका लगायत १२ देशका प्राज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी ३०० भन्दा बढीको सहभागिता रहने विश्वविद्यालयले जनाएको छ ।
सम्मेलनका संयोजक तथा विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायका डिन प्रा.डा. भोलानाथ शर्मा घिमिरेका अनुसार सम्मेलनमा १५० जनाले आफ्ना अध्ययन तथा अनुसन्धानपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तुत कार्यपत्रहरूमाथि विषयगत छलफल गरिने उहाँले जानकारी दिनुभयो ।
सम्मेलनमा प्रस्तुत हुने अनुसन्धान तथा अध्ययनका निष्कर्षलाई आधार बनाएर विश्वविद्यालयअन्तर्गत भविष्यमा अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै, देशको आवश्यकताअनुसार स्नातक, स्नातकोत्तर तथा विद्यावारिधी तहका विशेष कार्यक्रमहरूको पहिचान गरी नयाँ कार्यक्रम थप गर्न समेत सम्मेलनले सहयोग पुर्याउने विश्वास विश्वविद्यालयले लिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले गत वर्ष पहिलो संस्करणको अन्तरराष्ट्रिय सम्मेलन विराटनगरमा आयोजना गरेको थियो ।





