विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुल तथा कलेजका विद्यार्थीहरुले संयुक्त राष्ट्रंघको महासभाको अभ्यास गर्ने भएका छन् । ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघ महासभाको नाममा विद्यार्थीहरुले तीन दिवसीय अभ्यास गर्न लागेका हुन् ।
विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासको उद्देश्यका साथ यहि साउन २१, २२ र २३ गते नमुना महासभाको अभ्यास हुने विद्यार्थीहरुले आज पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् । नमुना महासभाको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राइले गर्नुहुने कार्यक्रम संयोजक इशल भट्टराईले जानकारी दिनुभयो ।
नमुना महासभामा कक्षा ८ देखि १२ सम्मका २ सय विद्यार्थीले विभिन्न देशका प्रतिनिधिको रूपमा भाग लिनेछन् । उनीहरूलाई विभिन्न ६ वटा सांकेतिक समितिमा विभाजन गरिनेछ, जसमा संयुक्त राष्ट्रसंघको साधारण सभा, मानवअधिकार परिषद्, विश्व स्वास्थ्य संगठन, वातावरण कार्यक्रम, सार्क र अन्तर्राष्ट्रिय प्रेस छन् ।
ती समितिहरूमा निशस्त्रीकरण, मानवअधिकार, कोभिड– १९ पछिको मानसिक स्वास्थ्य, दिगो कृषि, विपद् तयारी र पत्रकारिताको अभ्यास जस्ता विश्वव्यापी तथा क्षेत्रीय महत्त्वका विषयमा छलफल गरिने छ । नेपाल र भारतका मध्यस्थकर्ताहरुले सहजीकरण गर्ने उक्त छलफलमा हरेक समितिमा ३३ जना विद्यार्थी प्रतिनिधि रहनेछन् । संयोजक भट्टराईले यो कार्यक्रम गर्न पाउँदा सबै विद्यार्थी उत्साहि भएको बताउनुभयो ।
यो कार्यक्रमले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरका समस्या पहिचान र समाधानका लागि विकल्प खोज्न सिकाउने विश्वास ब्यक्त गर्दै संयोजक भट्टराईले अन्तर्राष्ट्रिय नीति, कूटनीति र सम्बन्ध बुझ्न समेत सघाउ पुग्ने बताउनुभयो । यस्तै समालोचनात्मक चेतको विकास गर्दै सहकार्यको भावना जागृत हुने तथा विश्वस्तरीय जनशक्तिसँग सहकार्य, समन्वय र प्रतिष्पर्धी बन्ने क्षमताको विकास गराउने भट्टराईको भनाई थियो ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरी संरक्षक रहेको यस कार्यक्रमलाई ग्लोबल हेल्प फाउण्डेसनले प्राविधिक तथा व्यवस्थापकीय सहजीकरण गर्ने बताइएको छ ।





