कविराज घिमिरे

हिले, माघ ४ गते । धनकुाटमा निर्वाचन प्रहरीका लागि कुल ११ सय २६ को आवेदन परेको छ । यो माग गरिएभन्दा ४१ जना बढीको आवेदन परेको हो ।

नेपाल प्रहरीतर्फ १ हजार ३४ र सशस्त्र तर्फ ९२ जनाको आवेदन परेको छ । धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र शसस्त्र प्रहरीमा ९६ गरी १ हजार ८५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाट माघ १ गते सम्मका लागि दरखास्त आह्वान गरेको थियो ।

सो अवधिमा धनकुटामा कुल ८ सय ७६ जनाको मात्र आवेदन परेपछि माघ ३ गते सम्मलाई म्याद थप गरिएको थियो । थप गरीएको अवधिमा १५८ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएस्पी राजन कार्कीले जानकारी दिनु भयो ।

आवेदन न्यून परेपछि जिल्ला प्रहरी कार्यलयसहित इलाका प्रहरी कार्यालय छिन्ताङ र इलाका प्रहरी कार्यलय राजारानीबाट समेत आवेदन दिन सकिने गरी व्यवस्था मिलाएको थियो । माघ ५ गते देखि ९ सम्म निर्वाचन प्रहरीको भर्ना छनाेट सकेर १२ गते अन्तिम नतिजा प्रकाशन गर्ने तयारी छ ।

यस्तै माघ १५ गतेदेखि प्रशिक्षण सुरु गर्ने कार्यतालिका रहेको डिएस्पी कार्कीको भनाइ छ । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानले पाउने सरहको सेवा सुविधा दिएर ४० दिन कार्यक्षेत्रमा खटाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया