काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले समाचार लेखेकै आधारमा राज्य संयन्त्रबाट पत्रकारलाई नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको बताएका छन्। उनले स्थापित सञ्चारमाध्यम र पत्रकारमाथि निश्चित विधि तथा कानुनी प्रक्रिया नअपनाई धरपकड गरिएको आरोप लगाएका छन्।
प्रचण्डले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले अङ्कुश लगाउन खोजेको भन्दै पक्राउ परेका पत्रकार श्रेष्ठलाई तत्काल र बिनासर्त रिहा गर्न माग गरेका छन्।
पत्रकार श्रेष्ठलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको हो। उनीमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ प्रहरी परिसरका अनुसार अदालतबाट पक्राउ पुर्जी लिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत हुन्।







