काठमाडौँ । उपसभामुख रुविकुमारी ठाकुरले पक्राउ परेका पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई ‘राक्षस’को संज्ञा दिँदै सामाजिक सञ्जालमा अशोभनीय टिप्पणी गरेकी छन्।
श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेपछि उपसभामुख ठाकुरले सामाजिक सञ्जालमार्फत उनको गिरफ्तारीलाई लक्षित गर्दै टिप्पणी गरेकी हुन्।
ठाकुरले पत्रकारिताको आवरणमा श्रेष्ठले महिलाहरूलाई आत्महत्या गर्न बाध्य पारिरहेको आरोप लगाउँदै ‘यो राक्षसलाई के गर्ने ?’ भन्दै प्रश्न गरेकी थिइन्।
उनले श्रेष्ठमाथि एक युवतीलाई आत्महत्या गर्न बाध्य बनाएको तथा अन्य युवतीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपसमेत लगाएकी छन्। साथै, उनले श्रेष्ठले धेरै महिलाको चरित्र हत्या गरेको र जनआस्थामा प्रकाशित सामग्री पत्रकार आचारसंहिताविपरीत रहेको दाबी गरेकी थिइन्।
यद्यपि, उपसभामुख ठाकुरले उक्त पोस्ट पछि हटाएकी छन्। तर पोस्टको स्क्रिनसट सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। कतिपयले संवैधानिक पदमा रहेकी उपसभामुखले आफ्नो पदको मर्यादा र गरिमा कायम राख्नुपर्ने भन्दै उनको टिप्पणीको आलोचना गरेका छन्।
आज अदालतमा पेस गरिँदै
यसैबीच, जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई बिहीबार अदालतमा पेस गरिने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो। अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
थापाले श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको जानकारी दिँदै बिहीबार अदालतमा पेस गरिने बताएका छन्।
जनआस्था साप्ताहिकले हालै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसदको युवतीसँगको अन्तरंग तस्वीर सार्वजनिक गरेको थियो। सोही विषयलाई लिएर प्रहरीमा उजुरी परेपछि श्रेष्ठ पक्राउ परेको बताइएको छ।
श्रेष्ठको पक्राउलाई लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा समेत बहस सुरु भएको छ। यसअघि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका थिए।







