इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने बताएका छन् ।

पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको सुनसरीको बराहक्षेत्रस्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि शुक्रवार साँझ पुगेका मुख्यमन्त्री कार्कीले आधारभूत संरचना निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए ।

‘प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तह मिलेर विकास गर्ने हामीले भनिरहेका छौं, यही विकासबाट पनि समृद्धि ल्याउने हो,’ कार्कीले भने, ‘बर्सातका बेला कोशी नदीमा केही गर्न सक्दैनौं तर अन्य बेला के के समस्या छन्, के के सम्भावना छन्, हामीले के गर्नुपर्ने प्रदेश सरकार तयार छ ।’

उनले बर्सातका बेला केही गर्न नसकेपनि अन्य समयमा भने सम्भावना खोज्नुपर्ने बताए । स्थानीय समस्या र आवश्यकताबारे सरकारलाई लिखित रुपमा पठाउनसमेत उनले आग्रह गरे ।

सरकारले कोशी नदीमा आधारित पर्यटनलाई विकास गर्ने योजना बनाइरहेका बेला जनस्तरबाट प्रचारप्रसार र प्रवर्द्धनमा उल्लेखनीय काम भएको चर्चा गर्दै बोराबाँधको पर्यटन प्रवर्धनले अरुलाई पनि प्रेरणा दिने बताए ।

‘कोशी भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक उल्लेखनीय रुपमा बोराबाँध आउँदा खुसी लागेको छ, यहाँ आधारभूत संरचना निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्नेछ,’ उनले थपे ।

बोराबाँध पर्यटन समितिका अध्यक्ष वसन्त राईले सडक असुविधा, शौचालय र भौतिक संरचना निर्माणमा सरकारले काम गर्नुपर्ने माग राखे ।

-टाकुरा न्युजको सहयोगमा

तपाईको प्रतिक्रिया