धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण माघ महिनामा धरानमा आयोजना हुने भएको छ ।
आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरी माघ २२ गतेदेखि धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।
क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार यस वर्षको प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । गत २५औँ संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । क्लबका महासचिव नविन राईका अनुसार प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ । प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
यो वर्षको बुढासुब्बा गोल्डकपमा एनआरटी क्लब काठमाडौं, चर्च ब्वाइज क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौं, सातदोबाटो युथ क्लब ललितपुर, एलए क्लब पोखरा, झापा–११ झापा, धरान फुटबल क्लब, रोयल थिम्फु क्लब भुटान र जर्जियन क्लब कालेम्पुङ भारतले प्रतिस्पर्धा गर्नेछन् । गत संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि एनआरटी क्लब काठमाडौंले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं उपविजेता बनेको थियो ।
आयोजकले यसपटकको संस्करण अझ प्रतिस्पर्धात्मक र आकर्षक हुने विश्वास व्यक्त गरेको छ ।





