विराटनगर / अभाव, गरिबी र संघर्षबीच पनि निरन्तर मिहिनेत र आत्मविश्वासले लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सिरहाको बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका सत्यनारायण साफी । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल साफीलाई विराटनगरस्थित अरनिको कलेजले मंगलबार नगदसहित सम्मान गरेको छ ।
सोही कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका साफीलाई ५१ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको हो । विशेष समारोहमा कलेजका प्राचार्य राजेश कार्की, सञ्चालक विकास खनाल, भरतराज दाहाल, कवि तथा पत्रकार मीनकुमार नवोदितलगायतले उनलाई सम्मान गरे । शिक्षकहरू बाबुराम गुरागाईं, रोशन लुइँटेल, योगेश राजभण्डारी, विमल भट्टराईलगायतको उपस्थितिमा सम्मान ग्रहण गर्दै साफीले कलेजले आफूलाई सम्झिएर सम्मान गरेकोमा खुसी व्यक्त गरे । एमबीबीएससम्मको यात्रामा अरनिको कलेजको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्राचार्य राजेश कार्कीले साफीको सफलताले कलेज परिवार गौरवान्वित भएको बताउँदै यस वर्ष अरनिको कलेजबाट अध्ययन गरेका १९ जना विद्यार्थीले एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको जानकारी दिए ।
कलेजका सञ्चालक भरतराज दाहालले इच्छाशक्ति भए गरिबी र अभावले सफलतालाई रोक्न सक्दैन भन्ने उदाहरण साफी भएको बताए । अभावका बीच पनि मजदुरी गर्दै एमबीबीएसमा नाम निकाल्न सफल हुनु सामान्य विषय नभएको उनको भनाइ थियो ।
दलित समुदायका साफीको पारिवारिक आर्थिक अवस्था कमजोर छ । परिवारको नाममा घरसहित साढे चार धुर घडेरी मात्र छ । सत्यनारायणका अनुसार बुबा मधुरी साफी वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै मजदुरी गर्दै आएका छन् भने आमा सुनिता साफीसहित तीन छोरी र दुई छोराको परिवार दैनिक ज्यालामजदुरीमै निर्भर छ ।
साफीले २०७७ सालमा गाउँकै जनता माध्यमिक (प्राविधिक) विद्यालय, बरियारपट्टीबाट एसईई उत्तीर्ण गरेका थिए । त्यसपछि २०७९ सालमा विराटनगरको अरनिको स्कुलबाट विज्ञान विषयमा कक्षा १२ पूरा गरेपछि एमबीबीएस पढ्ने सपना बुने । कमजोर आर्थिक अवस्थाका कारण २०८० सालमा तयारीका लागि काठमाडौं पुगे पनि दुई महिनामै गाउँ फर्किन बाध्य भए ।
त्यसपछि उनले आमाबुबासँगै निर्माण क्षेत्रमा मजदुरी थाले । दुई वर्ष मजदुरी गर्दागर्दै पनि पढाइलाई निरन्तरता दिए । ‘बिहान काम, साँझ पढाइ—दिनको ६–७ घन्टा स्वाध्ययन गर्थें,’ साफीले भने, ‘काम पनि पढ्नकै लागि गरिरहेको थिएँ ।’
मजदुरीबाट कमाएको पैसाले किताब किनेर तयारी गरेका साफीले दोस्रो प्रयासमै चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए । २०८१ सालमा पहिलो पटक दिएको परीक्षामा प्राविधिक कारणले नतिजा नआए पनि उनले हार मानेनन् ।
‘गरिबी बाधा हुन सक्छ, तर लक्ष्य रोक्न सक्दैन,’ साफीले भने, ‘मेरो सफलताको आधार आमाबुबाको त्याग र आशीर्वाद हो ।’ उनी यही ८ पुसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा भर्ना भइसकेका छन् । कलेज भर्ना शुल्कमै साढे ६४ हजार रुपैयाँ खर्च भइसकेको छ । छात्रवृत्तिमा पढ्न पाए पनि बसोबास, खानपान र अध्ययन सामग्रीका लागि थप आर्थिक चुनौती रहेको उनको भनाइ छ ।
अरनिको कलेजबाट प्राप्त नगद सम्मानलाई उनले ‘आशीर्वाद’को रूपमा लिएको बताए । ‘यो रकमले मेरो पढाइ यात्रामा ठूलो सहयोग पुग्नेछ,’ उनले भने । अध्ययनपछि देशमै बसेर जनताको सेवामा समर्पित हुने अठोट साफीको छ । ‘आमा र देश एउटै हुन्,’ उनले भने, ‘त्यसैले म देश छाडेर कतै जाँदिन ।’





