काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर अमेरिका भ्रमणमा जान लागेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि राजीनामाको दबाब बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रूपमा रवि, कुलमान र बालेनको सम्झौता समारोहमा सहभागी गुप्तालाई रास्वपासँगको आबद्धता विषयमा स्पष्ट भई पार्टीमा लाग्ने भए राजीनामा दिन प्रधानमन्त्री सुशीला कार्कीले दबाब दिइरहँदा अमेरिका भ्रमण विवादले समेत थप दबाब बढेको हो ।
एनआरएनए अमेरिकाको आयोजनामा हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रमका लागि जाने भनी मन्त्रिपरिषद्बाट निर्णय गरिएपछि गुप्ताको भ्रमणसँग जोडेर विवाद भएको हो । मन्त्रीले भ्रमण गर्ने स्तरको कार्यक्रम नभएको र यस्ता कार्यक्रममा विदेश भ्रमणमा जानु सदाचार नीति विपरित भएको भन्दै सुरु आलोचना मानव तस्करी आशंकामा समेत जोडिएपछि थप विवादमा परेको हो ।
मन्त्रिपरिषद्को गत ५ असोजको निर्णयअनुसार निर्माण भएको सदाचार नीतिविपरित विदेश भ्रमणमा जान लागेको भन्दै मन्त्रिपरिषद्भित्रैबाट समेत गुप्ताको विरोध भएको थियो । मन्त्रिपरिषद्को २२ पुसको बैठकबाट भ्रमणको स्वीकृति हुँदासम्म अमेरिकामा हुने कार्यक्रम मिति नै निर्धारण नभएको मन्त्री गुप्तादेखि आयोजक भनिएका संस्थाले प्रष्ट्याएका छन् ।
युवा तथा खेलकुदमन्त्रीको अमेरिका भ्रमण विषयमा विवाद भएपछि बिहीबार अमेरिकाबाट जारी दुई संस्थाका विज्ञप्तिले आशंकाको चाङ थपेको छ । अमेरिकामा जेनजी रिभोल्युसन नसम्बन्धी कार्यक्रम आयोजना गर्ने बेलासम्म मन्त्रीसँग संवादमा रहेका एनआरएनए अमेरिका अध्यक्ष विकास उप्र ेती र युवा विभाग प्रमुखले कार्यक्रमका लागि निम्तो भएको भन्दै विज्ञप्ति निकालेका छन् ।
उनीहरूको विज्ञप्तिमै ‘भ्रमण स्वीकृत भएपछि मिति र विस्तृत कार्यक्रम सार्वजनिक गरिने’ तयारी भएको उप्रेती अध्यक्ष रहेको एनआरएनएका प्रवक्ता द्रोण गौतमले जनाएका छन् । एकातिर आफूहरूले निम्तो गरेको भन्दै विज्ञप्ति सार्वजनिक भइरहँदा संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता रहेको आधिकारिक संस्था आफूहरू भएको र खेलकुदमन्त्री गुप्तालाई निम्तो गरिएको भन्दै अर्को विज्ञप्ति पनि बिहीबार राति सार्वजनिक भएको छ ।
आयोजकको नाम, इआइएन नम्बर तथा वेभसाइटसमेत दुरुपयोग गरेको दावी गर्दै नेपालबाट कुनै मन्त्रीलाई कार्यक्रममा निम्तो नगरिएको भन्ने व्यहोराको विज्ञप्ति जारी भएको थियो । मन्त्रीको भ्रमणका नाममा मानव तस्करी हुनसक्ने भन्दै खबरदारीसमेत गर्दै बिहीबार सतेन्द्र शाह अध्यक्ष रहेको एनआरएनएका प्रवक्ता सन्देश उप्रेतीले अर्को वक्तव्य जारी गरेका थिए ।
राष्ट्रिय आवश्यकता र कुटनीतिक महत्वका हिसाबले अत्यावश्यक भएकोबाहेक विदेश भ्रमण नगर्ने सदाचार नीति सार्वजनिक गरेको सरकारका मन्त्री आन्तरिक र संस्थागत विवाद झेलिरहेको एनआरएनएको तिथिमिति तय नभएको कार्यक्रममा जान लागेको भन्दै आलोचना भएपछि भ्रमण रद्द हुने अवस्थामा पुगेको छ । कुटनीतिक अर्थ नभएको कार्यक्रममा नजान मन्त्रिपरिषद्मा सुझाव हुँदाहुँदै जिद्दी गरेर स्वीकृत गराएको भ्रमण विषयमा राजधानी दैनिकमा समाचार प्रकाशित भएपछि गुप्तालाई अमेरिका भ्रमण रद्द गर्न दबाब बढेको थियो ।
मन्त्रीले अमेरिका भ्रमणको पक्षमा वकालत गर्दै जेनजीका माग पूरा गर्न आफू अमेरिका जानुपर्ने भन्ने प्रकृतिका अभिव्यक्ति दिन थालेपछि उनीविरुद्ध राजीनामाको दबाब बढेको छ । मन्त्रीको भ्रमणमा मानव तस्करीको विषयसमेत जोडिएपछि गृहमन्त्री ओमप्रकाश अर्यालदेखि प्रधानमन्त्री सुशिला कार्कीसमेतले खेलकुदमन्त्री गुप्तालाई राजीनामा दिन आग्रह गरेका छन् ।
– साभार :राजधानी





