काठमाण्डाै – राष्ट्रिय तथ्याङ्क कार्यालयले आउँदो चैत १ गतेदेखि दोस्रो आर्थिक गणना शुरू गर्ने भएको छ । कार्यालयले आज गणनाको तालिका, लोगो र नारा सार्वजनिक गरेको हो । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित हुने आर्थिक गणना असार मसान्तसम्म चल्नेछ ।

२०७५ सालको वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो । दोस्रो आर्थिक गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण समावेश गरिने कार्यालयले जनाएको छ ।

आर्थिक गणनामा प्रतिष्ठानहरूमा गएर नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्थासमेत हेरिनेछ । कार्यालयका अनुसार आर्थिक गणनाका लागि पाँच हजार गणक नियुक्त हुँदैछन् ।

राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी–सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्ने योजना छ । कार्यालयले विभिन्न १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गर्नेछ ।

तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी कमलप्रसाद पोख्रेलले आर्थिक कारोबार गर्ने क्षेत्रहरूको अवस्था जान्नका लागि यो गणना महत्त्वपूर्ण हुने बताउनुभयो ।

२०७५ को पहिलो राष्ट्रिय आर्थिक गणनामा देशैभर ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान र व्यवसाय गणना गरिएको थियो । जसमा ३२ लाख २८ हजार ४ सय ५७ मानिस संलग्न रहेका विवरण सार्वजनिक भएको थियो ।

तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवम् प्रवक्ता ढुण्डीराज लामिछानेले आर्थिक गणनाको उद्देश्य नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन गर्न गर्न लागिएको बताउनुभयो । उहाँकाअनुसार सरकारले तय गर्ने नीति निर्माण र योजना तर्जुमा गर्न तथा नीतिमार्फत लिएका लक्ष्यहरूको मापनमा आर्थिक गणनाले सहयोग गर्नेछ ।

तपाईको प्रतिक्रिया