काठमाण्डौं / आउँदै गरेको ल्होसार पर्वको अवसर पारेर गायक सुगम पोखरेलले ‘ल्होसार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आफ्नै शब्द तथा संगीत रहेको उक्त गीत नवमीको अवसरमा सार्वजनिक गरिएको हो।
विशेषतः गुरुङ, शेर्पा र तामाङ समुदायले मनाउने ल्होसार पर्वको सांस्कृतिक महत्वलाई गीतमार्फत प्रस्तुत गरिएको छ। गुम्बा तथा रोदीमा छायांकन गरिएको भिडियोमा सुगम पोखरेल आफैं शेर्पा, तामाङ र गुरुङ भेषमा नाचिरहेको देख्न सकिन्छ।
गीतको भिडियो लोकेन्द्र सुब्बाले निर्देशन तथा सम्पादन गरेका हुन् भने छायांकन घिसिङ २१ र विनोद लामाले गरेका छन्।
पप तथा चलचित्र गायनमा आफ्नो अलग पहिचान बनाइसकेका सुगम पोखरेल पछिल्लो केही वर्षयता नेपाली मौलिक संस्कृति, भेषभूषा, समुदाय र भूगोललाई केन्द्रमा राखेर गीत–संगीत सिर्जना गर्दै आइरहेका छन्। नेपालको मौलिक पहिचानलाई गीत–संगीतको माध्यमबाट श्रोता तथा दर्शकमाझ पुर्याउँदै मनोरञ्जन दिने उद्देश्यसहित आफू सांगीतिक अभियानमा लागेको उनले बताएका छन्। यस अभियानलाई उनले ‘कलर्स अफ हिमालय’ नाम दिन रुचाउने गरेका छन्।
‘ल्होसार’ गीतको म्युजिक भिडियो सुगम पोखरेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।





