झापा / आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै राजावादी राजनीतिक शक्ति पुनः एकजुट हुने दिशामा अघि बढेको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकताका लागि सहमति भएको छ ।
बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई दलबीच एकता गर्ने निर्णय गरेको हो । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आजै साँझ ७ बजेअघि एकता सहमति पत्रमा दुवै पक्षका शीर्ष नेताले हस्ताक्षर गर्ने तयारी छ ।
श्रेष्ठले भने, ‘आज एकता गर्ने सहमति मात्रै भएको हो । पद बाँडफाँटलगायत विषयमा कुनै निर्णय भएको छैन । कमल थापा कुनै किसिमको बार्गेनिङ नगरी एकताका लागि तयार हुनुभएको छ ।’
निर्वाचन नजिकिँदै गर्दा विभाजित राजावादी शक्तिले साझा एजेन्डा लिएर अघि बढ्ने रणनीतिका रूपमा यो एकतालाई हेरिएको छ । पछिल्ला निर्वाचनमा कमजोर उपस्थिति देखिएको राप्रपाका लागि यो एकता संगठन सुदृढीकरण र मताधार विस्तारको प्रयासका रूपमा पनि बुझिएको छ ।
कमल थापा २०७८ मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि २०७८ माघ २५ गते पार्टीबाट अलग भएको घोषणा गरेका थिए । उनले सो महाधिवेशनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित भएको आरोप लगाएका थिए । त्यसपछि थापाले २०७८ फागुन ७ गते राप्रपा नेपाल गठन गरेका थिए ।
अब फेरि लिङ्देन र थापा एउटै मञ्चमा उभिन लागेपछि राजसंस्था, हिन्दुराष्ट्र र संघीयताविरुद्धका मुद्दालाई चुनावी एजेन्डाका रूपमा अघि सार्ने तयारी भइरहेको नेताहरू बताउँछन् । यो एकताले आगामी निर्वाचनमा राजावादी मत एकत्रित हुने अपेक्षा गरिएको छ ।





