काठमाडौं। अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)अध्यक्ष रितु सिंह वैद्यले नेपालको यातायात क्षेत्रलाई थप दिगो र भरपर्दो बनाउन स्थिर सरकारी नीति र आधुनिक पूर्वाधारको आवश्यकता रहेको बताएकी छन्।
आजदेखि भृकुटीमण्डपमा सुरु भएको दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पो उद्घाटन कार्यक्रममा अध्यक्ष वैद्यले प्रविधिको तीव्र विकाससँगै सवारी साधनको बजारमा ठूलो परिवर्तन आइरहेको उल्लेख गरिन्।
अहिले ब्याट्रीबाट चल्ने विद्युतीय गाडीका साथै विभिन्न प्रकारका हाइब्रिड र नयाँ प्रविधिका सवारी साधन भित्रिरहेको अवस्थामा सरकार र उद्योग दुवैले यी नयाँ प्रविधिलाई गहिराइमा बुझ्नुपर्ने र त्यसैअनुरूप कर प्रणाली, वर्गीकरण र नियमनका स्पष्ट व्यवस्था गरिनुपर्नेमा उनले जोड दिइन्। नाइमाले यसका लागि आवश्यक प्राविधिक सहयोग र विज्ञता उपलब्ध गराउन तयार रहेको उनले स्पष्ट पारे।
अध्यक्ष वैद्यले ‘सबैका लागि गतिशीलता’ अवधारणालाई नाइमाको मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरिन्। उनका अनुसार यातायात वा गतिशीलता केवल सवारी साधन मात्र नभएर यो शिक्षा, स्वास्थ्य, रोजगारी र बजारसम्मको पहुँच पनि हो। त्यसैले यसलाई केवल विलासिताको वस्तु वा सरकारको आम्दानीको स्रोतका रूपमा मात्र नहेरी राष्ट्रिय विकासको एक महत्त्वपूर्ण अंगका रूपमा हेरिनुपर्दछ।
नेपालमा यातायातलाई थप प्रभावकारी बनाउन सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम, भरपर्दो चार्जिङ पूर्वाधार, आधुनिक परीक्षण केन्द्र र दक्ष जनशक्तिको खाँचो रहेको उनको भनाइ छ। सवारी साधनको संख्या बढ्दै जाँदा सडक सुरक्षालाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिइन्।
उनले लगानीमैत्री वातावरणका लागि सरकारले स्थिर र दीर्घकालीन नीति अवलम्बन गर्नुपर्ने माग गरिन्। नीतिमा हुने पटक–पटकको परिवर्तन र अस्पष्टताले व्यवसायीमा अन्योल पैदा गर्ने उनको तर्क छ।
दशकौँदेखि नेपालमा लगानी र रोजगारी सिर्जना गर्दै आएका अटोमोबाइल कम्पनीलाई प्रोत्साहन गर्न र यो क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको कुरामा उनले जोड दिइन्।







