विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा विराट ट्रेड एक्स्पोको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले गरेका छन्। बुधबार सम्पन्न उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका पर्यटन मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यापारी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले यस्ता औद्योगिक तथा व्यापारिक मेलाले स्वदेशी उत्पादनको प्रवर्द्धन, लगानी आकर्षण तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले निजी क्षेत्रको सक्रियताले रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने पनि उल्लेख गरे।

आयोजकका अनुसार एक्स्पो मंसिर १९ गतेसम्म सञ्चालन हुनेछ। मेलामा करिब दुई लाख सर्वसाधारणले अवलोकन गर्ने र झण्डै २० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म खुला रहने एक्स्पोमा स्वदेशी तथा विदेशी उत्पादन, औद्योगिक सामग्री, कृषि तथा प्रविधिसम्बन्धी विभिन्न स्टलहरू राखिएका छन्। एक्स्पोले उद्योगी, व्यापारी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ।

तपाईको प्रतिक्रिया