मच्छिन्द्र फुटबल क्लबले १६औं जित निकाल्दै एन्फा यु-१६ युथ लिगमा शीर्षता होड जारी राख्दा जावलाखेल युथ र संकटा क्लबले पनि सुखद नतिजा आत्मसात् गरेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले सोमबार हिमालयन शेर्पा क्लबमाथि ६-१ को फराकिलो जितसँगै लिगमा शीर्षताको होड कायमै राख्यो। मच्छिन्द्रको जितमा राहुलकुमार योञ्जन, सुदीप ठकुरी, गोविन्द विक, कोन्जोक लामा, प्रज्ञान राई र आर्यावीर सिंहले गोल गरे। विशु सुनुवारले गोल फर्काउँदै हिमालयन शेर्पाको हारको अग्रता छोट्याए। लिगमा १६ जितसँगै मच्छिन्द्रले शीर्ष स्थानका लागि नेपाल पुलिस क्लबमाथि दबाब पनि बढाएको छ। समान २३ खेलबाट मच्छिन्द्र र पुलिसको समान ५२ अंक छ। तर, गोलअन्तरका आधारमा पुलिस दोस्रो स्थानमा छ। यति नै खेल खेलेको मनाङ मर्स्याङ्दी एक अंकले पछि छ।

१४ टोली सहभागी भएको युथ लिगमा २६औं चरणसम्म खेल हुनेछन्। सोमबारदेखि २४औं चरणका खेल सुरु भएका छन्। शीर्ष चार स्थानमा रहेका मच्छिन्द्र, पुलिस, मनाङ र फ्रेन्ड्स क्लबले २३ खेल खेलेका छन्। अब यी चार टोलीको मात्र उपाधि सम्भावना बाँकी छ। समान खेलबाट फ्रेन्ड्सको ४८ अंक छ। चार टोलीबाहेक अन्यले शीर्ष स्थानमा रहेका मच्छिन्द्र र पुलिसको सर्वाधिक ५२ अंक भेट्टाउने छैनन्। त्यसैले सोमबारको जितले मच्छिन्द्रलाई उपाधि होडमा बलियो बनाएको छ। मच्छिन्द्रले शेर्पाविरुद्ध एकपक्षीय खेल राख्दै उपाधि होड कायमै राखेको हो। मच्छिन्द्रले पहिलो हाफमा दुई गोल गर्‍यो। तर, दोस्रो हाफमा चार गोल थप्दै मच्छिन्द्रले फराकिलो जित निकाल्यो।

एन्फा कम्प्लेक्समा नै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबमाथि ४-२ को जित निकाल्यो। जावलाखेलको जितमा विशाल शाहीले ह्याट्रिक गरे। उनले खेलको ४५, ५४ र ८१औं मिनेटमा गोल गरेका थिए। एक गोल सुमित वाइबाको नाममा रह्यो। सातदोबाटोको लागि एरिस खत्रीले एक गोल फर्काएका थिए। यो जितपछि जावलाखेल २३ खेलबाट २६ अंक जोड्दै दशौं स्थानमा उक्लिएको छ। सातदोबाटो युथले २३औं खेल पूरा हुँदा पनि अंकको खाता खोल्न सकेको छैन। लिगको पुछारमा रहेको सातदोबाटोले अहिलेसम्म १३९ गोल बेहोरिसकेको छ भने १८ गोल मात्र गरेको छ।

सोमबार नै भएको अर्को खेलमा संकटाले श्र भगवती क्लबमाथि १-० को साँघुरो जित निकाल्यो। प्रजलकुमार लुम्रेले गरेको एक गोल नै संकटाको जितका लागि पर्याप्त भयो। २४औं खेलमा जित निकाल्दै संकटा पाँचौं स्थानमा उक्लिएको छ। यद्यपि, यो जितका बाबजुद संकटा उपाधिहोडबाट छैन। लिगको दुई खेल बाँकी छँदा संकटाको ४४ अंक छ। समान खेलबाट श्री भगवती ३० अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया