ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण आगलागीबाट चौध करोड ५६ लाख रुपियाँ मूल्य बराबरको क्षति भएको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो दोभान बजारमा भएको आगलागीबाट उक्त मूल्य बराबरको क्षति भएको हो ।
मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा बिहीबार दिउँसो १ः४० बजेको समयमा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार आगलागीबाट किराना पसल, भाँडावर्तन, लत्ता कपडाका पसलका सामान, अलैँची र घरहरु जलेर ध्वस्त हुँदा कुल १४ करोड ५६ रुपियाँ मूल्य बराबरको क्षति भएको हो ।
आगलागीबाट पसलका सामानहरु र घर सहितका संरचना जलेर नष्ट हुनुका साथै केही नगदसमेत जलेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित परिवारले दिएको जानकारी साथै आगलागीबाट ध्वस्त भएको वस्तु तथा अवस्थाको मूल्याङ्कनबाट उक्त मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको हो ।
दोभान बजारका स्थानीय लाक्पाचुङ शेर्पा (डण्डु) को घरबाट आगलागी सुरु भएको थियो । उक्त आगलागीबाट आठ घर पूर्णरुपमा जलेर नष्ट भएको थियो भने दुई घरमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । यता आगलागीबाट घरधनी आठ परिवार र कोठा भाडामा बस्ने सात गरी १५ परिवार विस्थापित भएका छन् ।
विस्थापित हुनेमा शेर्पाको परिवारसँगै स्थानीय भीम लङ्वा लिम्बू, चन्द्रप्रसाद पौडेल, यामबहादुर आङ्बुहाङ, घनश्याम खरेल, राजु शेर्पा, सुकबिर लिम्बू र राजेन्द्रप्रसाद पौडेलको परिवार छन् । त्यस्तै भाडामा बस्ने अनिसा विक, सुनम लिम्बू, लाक्पा शेर्पा, श्याम चोङ्वाङ, आरती लिम्बू, काशीनाथ चुडाल, विनु लिम्बू, मोहन लिम्बू र खम्बासिंह लिम्बूको परिवार पनि विस्थापित भएको छन् ।
दोभान बजारमा यसअघि २०७७ साल फागुन १८ गते पनि भीषण आगलागी भएको थियो । त्यसबेला भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएको थियो भने करिव ४० करोड रुपियाँ बढी क्षति हुन पुगेको थियो । दोभान बजार मेरिङ्देन गाउँपालिका, मैवाखोला गाउँपालिका र आठराई त्रिबेणी गाउँपकालिको सङ्गमस्थलमा पर्छ । त्यस्तै दोभान बजार सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठुलो बजार तथा व्यापारिक केन्द्र हो ।





