काठमाडौं– पछिल्लो समय चर्चामा रहेका गायक विशाल सोनी तथा शान्तारानी परियारको स्वरमा नयाँ गीत ‘स्याउली बजारमा’ सार्वजनिक गरिएको छ । विशाल र शान्तारानी चर्चामा आएको धेरै समय भएको छैन । यद्यपि, उनीहरुको सांगीतिक क्षेत्रको संघर्ष दशक बढी छ ।
विशालको नेपाली सांगीतिक क्षेत्रमा दशक बढीको अनुभव छ । उनलाई ७ महिनाअघिको ‘मकै बारी दर्याम दर्याम’ गीतले चर्चामा ल्याइदियो । यस्तै गायिका शान्तारानी परियारलाई एक वर्षअघिको ‘म त ढलेँ ढलेँ’ गीतले चर्चामा ल्याइदियो । यी दुबै गायक र गायिकालाई दर्शकले पछिल्लो समय निकै रुचाइरहेका छन् । अहिले भर्खर ‘तानातान हानाहान स्याउली बजारमा’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतको हुकलाइन पनि विशालकै छ । शब्द भने गीतकार नेत्र अर्यालले रचना गरेका छन् । गीतमा नन्दु परियारले संगीत दिएका छन् भने एरेन्ज एचबिएन किस्मतको छ । गीतको भिडियो रमाइलो बनेको छ । साथै नेपाली फिल्मका लोकप्रिय अभिनेता तथा म्युजिक भिडियोका डिमाण्डेड पल शाहले आकर्षक नृत्य गरेका छन् । उनलाई मोडल कोमल नेपालीले साथ दिएकी छिन् । मोडल कोमलले यसअघि केहि म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।
यसअघिको अनुभवले पनि अहिलेको गीतमा निकै मेहनतका साथ काम गरेको कोमलले बताएकी छिन् । साथै उनले पल शाहसँग काम गर्न पाउँदा खुशी ब्यक्ति गरेकी छिन् । भिडियोमा गायक विशाल पनि देखिन्छन् । नवराज उप्रेतीद्वारा छायांकन गरिएको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।





