विराटनगर / उच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति समावेशी रुपमा निर्विरोध चयन गरिएको छ । विराटनगरमा सम्पन्न २९–३० औं साधारणसभाबाट सर्वपक्षीय, समावेशी, महिला र युवासमेतको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो ।

१५ औं कार्यसमितिको अध्यक्षमा हरिबहादुर बराललाई निर्विरोध निर्वाचित गरिएको छ । उनी पीटीएलएको प्रतिनिधित्व गर्दै अध्यक्ष निर्विरोध भएका हुन् । त्यस्तै उपाध्यक्षमा डीएलएकी अञ्जना संग्रौला, सचिवमा एटीएलएका राजेन्द्रकुमार सुनुवार, सहसचिवमा आरपीएलएकी सन्तोषी दास, कोषाध्यक्षमा पीटीएलएकी विष्णुकुमारी तामाङ निर्विरोध चयन भएका छन् ।

त्यस्तै विनोद फुयाल, कमलप्रकाश चौधरी, अन्ताज हुसेन, उमेशकुमार मण्डल, तीर्थराज भट्टराई, सुष्मा अधिकारी, भरत चौलागाईं र तुलसी साह सर्वसम्मतबाट सदस्यमा छानिएका छन् ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई पदस्थापनसमेत गरिएको थियो । वरिष्ठ अधिवक्ता रमेश कोइराला, सुरेशलाल श्रेष्ठ, डा. मेदिनी सेडाईं, चूडामणि आचार्य, अग्रज कानुन व्यवसायी देवीबहादुर घिमिरेलगायतको विशेष उपस्थितिमा भएको साधारणसभाले ७ सदस्यीय केन्द्रीय पार्षदसमेत छानेको छ ।

वरिष्ठ अधिवक्ता हेमराज पराजुली निर्वाचन समितिको संयोजक तथा अधिवक्ता बद्रीप्रसाद आचार्य र दिनेश भट्टराई सदस्यको भूमिकामा थिए ।

यसअघि यस्तो समावेशी र सर्वपक्षीय कार्यसमिति कहिल्यै पनि चयन भएको थिएन । सबै अधिवक्ताहरुको सकारात्मक पहलले विभिन्न विचारलाई आत्मसात गर्ने कार्यसमिति चयन भएको वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले बताए । सोही अवसरमा सरुवा भएर आएका नयाँ न्यायाधीशहरुलाई स्वागत तथा सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया