उषा सरदार, १४ असार
धनपालथान । नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेका विश्वका मुलुकमध्ये एक हो। बाढी, डुबान, आगलागी, चट्याङ, हावाहुरी, भूकम्प तथा महामारीजस्ता विपद्ले हरेक वर्ष ठूलो जनधनको क्षति पुर्याउँदै आएका छन्। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको असरका कारण यस्ता विपद्का घटना झन् बढिरहेका छन्। त्यसैले अहिले विपद् व्यवस्थापनको अवधारणा उद्धार र राहतमा मात्र सीमित नरही जोखिम न्यूनीकरण पूर्वतयारी,पूर्वसूचना र समुदाय्को सहभागितामा केन्द्रित हुन थालेको छ। यही सोचलाई व्यवहारमा उतार्दै मोरङको धनपालथान गाउँपालिकाले सुरक्षित समुदाय निर्माणका लागि योजनाबद्ध रूपमा काम अघि बढाइरहेको छ।
धनपालथान गाउँपालिकाकी उपाध्यक्ष नसिमा बानोका अनुसार, विपद कहिल्यै सूचना दिएर आउने विषय होइन। त्यसैले जुनसुकै परिस्थितिमा पनि सामना गर्न सक्ने गरी गाउँपालिका भौतिक, आर्थिक र मानसिक रूपमा सधैं तयारी अवस्थामा रहेको बताउनु भयो। उहाँका अनुसार विपद् आउँदा राहत वितरणमा ढिलाइ नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले ३० लाख ८६ हजार रुपैयाको प्रकोष ब्यवस्थापन कोष स्थापना गरेको छ। आकस्मिक अवस्थामा अध्यक्षको तोक आदेशअनुसार १० हजार रुपैयाँ आम्म तत्काल राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ भने सोभन्दा बढी रकम कार्यपालिकाको निर्णयअनुसार खर्च गरिने व्यवस्था मिलाइएको छ।

जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले वडा नम्बर १,५,६ र ७ लाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ। ती क्षेत्रको तथ्याङ्क कोबोकलेक्ट एप मार्फत वास्तविक समय, स्थान र जीपीएससहित संकलन गरी आवश्यक तयारीलाई व्यवस्थित बनाइएको छ। यसले विपद्को अवस्थामा छिटो निर्णय लिन र प्रभावकारी रूपमा उद्धार तथा राहत परिचालन गर्न सहयोग पुर्याउने छ। गाउँपालिकाले विपद् व्यवस्थापन समितिसमेत गठन गरी समग्र व्यवस्थापनलाई संस्थागत बनाएको छ।

विपद्को बेला दक्ष जनशक्तिको अभाव नहोस् भन्ने उद्देश्यले स्वयंसेवक उत्पादनलाई पनि प्राथमिकता दिइएको छ। गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख सज्जन भण्डारीका अनुसार,असार ९ गते देखि १५ गते सम्म सशस्त्र प्रहरी बल नेपाल कंकाली नम्बर–३ गण मुख्यालयको टोलीले रंगेलीमा रंगेली, रतुवामाई, सुनवर्षी र धनपालथानका पाँच पाँच जना युवाहरूलाई बिपद स्वयंसेवक तालिम प्रदान गरिरहेको छ। तालिम सम्पन्न गरेका युवाहरूलाई भविष्यमा गाउँपालिकाभित्र हुने विपद्का घटनामा प्रहरी र सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्यमा परिचालन गरिनेछ। पालिकाले विपद् व्यवस्थापनसम्बन्धी कार्ययोजना तयार गरि पुस्तक समेत प्रकाशन गरेको छ। विपद्का बेला तत्काल प्रयोग गर्न मिल्ने गरी म्याट्रेसी त्रिपाल लगायत राहत सामग्री विपद् व्यवस्थापन शाखामा मौज्दात राखिएको छ। पालिकाले जाडो मौसममा न्यानो कपडा वितरण तथा वन कार्यालयसँग समन्वय गरी दाउराको व्यवस्था गर्ने गरेको छ। त्यस्तै सुख्खा मौसममा आगलागीको जोखिम न्यूनीकरणका लागि रंगेली नगरपालिकासंगको साझेदारीमा दमकल सेवा सञ्चालन हुँदै आएको छ। गाउँपालिकासँग आफ्नै एम्बुलेन्स सेवा समेत उपलब्ध रहेको उपाध्यक्ष बानो बताउनुहुन्छ।
धनपालथानले विगतका विपदबाट महत्वपूर्ण पाठ पनि सिकेको छ। केही वर्षअघि वडा नम्बर–७ मा भएको भीषण आगलागीमा १० वटा घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो। उपाध्यक्ष बानोका अनुसार, घटना भएको जानकारी पाउनेबित्तिकै पालिकाले स्थानीय समुदायसँग समन्वय गरी प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो। त्यसपछि खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराइएको थियो। राहत वितरणलाई पारदर्शी बनाउन गाउँ समाज र जनप्रतिनिधिहरूको उपस्थितिमा सामग्री वितरण गरिएको उहाँले स्मरण गर्नुभयो।
गाउँपालिकाले खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राख्ने, राहत सामग्री भण्डारण गर्ने, जोखिमयुक्त क्षेत्रको नियमित पहिचान गर्ने तथा सुरक्षा निकायसँग निरन्तर समन्वय गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ। विद्यालय, समुदाय तथा विभिन्न संघसंस्थामार्फत विपद् सम्बन्धी तालिम , अभ्यास र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर नागरिकलाई पनि विपद्सँग जुध्न सक्षम बनाउने प्रयास भइरहेको विपद् व्यवस्थापन शाखा प्रमुख सज्जन भण्डारी बताउनुहुन्छ।
उहाँका अनुसार, विपद् व्यवस्थापनमा सरकारी संयन्त्र मात्र पर्याप्त हुँदैन। समुदाय आफैं सचेत र सक्षम भएमा मात्रै विपद्को क्षति उल्लेखनीय रूपमा घटाउन सकिन्छ। त्यसैले गाउँपालिकाले विद्यालयदेखि समुदायसम्म सचेतनालाई निरन्तरता दिएको बताउनु भयो।
उपाध्यक्ष नसिमा बानोले बिपद रोकन सकिँदैन , तर त्यसबाट हुने क्षति आवशय कम गर्न सकिन्छ। त्यसका लागि नागरिकको सचेतना , पुर्वतयारी , प्रभावकारी योजना र सबै पक्ष बिचको सहकार्य अपरिहार्य रहेको छ।

धनपालथान गाउँपालिकाले अपनाएको पुर्वतयारी, पर्याप्त लगानी,प्रबिधिको प्रयोग , स्वयंसेवक बिकास , राहत सामग्री ब्यवस्थापन तथा सुरक्षा निकायसंगक समन्वयले विपद् व्यवस्थापनलाई नयाँ ढंगले अघि बढाइरहेको छ। विपद् आएपछि मात्र राहत बाँड्ने परम्परागत सोचभन्दा अघि बढेर बिपद आउनु अघिनै तयारी गर्ने संस्कृतिको बिकास गर्नु नै धनपालथानको विशेषता बनेको छ। यही कारण, सुरक्षित धनपालथान निर्माणको आधार आज पूर्वतयारी , योजना र सहकार्य बनेको देखिन्छ ।







