काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले नशालु पदार्थ सेवन गरेर बोले–लेखेजस्तो महसुस भइरहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको स्ट्याटसले सामाजिक सञ्जाल तरंगित बनिरहेका बेला मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् ।

उनले त्यस्ता पदार्थ प्रयोग गरे पनि त्यस समय नबोल्न र नलेख्न ठट्यौली पारामा अनुरोध गरेका छन् ।

‘केही केही आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेलाबेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ,’ मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

राजनीतिक दलको अलोकप्रियता, सामाजिक सञ्जाल र युट्युबको बढ्दो प्रयोगपछि जनताले आशा र विश्वास गरेका व्यक्तिहरू उनीहरूले व्यक्त गर्ने भनाइका कारण विवादमा पर्ने गरेका छन् । सार्वजनिक रूपमा खुलेर देखापर्न नचाहने काठमाडौं महानगरपालिकाका मेयर बालेन स्ट्याटसकै कारण चर्चा र विवादमा पर्दै आइरहेका छन् । मेयरमा निर्वाचित भएको केही समयपछि ट्राफिक प्रहरीले आफ्नो सवारीसाधनमा चेकजाँच गरेको भन्दै उनले सिंहदरबार जलाउने धम्की दिएका थिए । त्यसको चौतर्फी आलोचनापछि उनले त्यसलाई हटाएका थिए । गएराति पनि उनले विभिन्न मित्रराष्ट्र, राजनीतिक दलहरूलाई अश्लील गाली गर्दै स्ट्याटस लेखेका थिए । चर्को आलोचनाका कारण पोस्ट् गरेको केही समयपछि नै त्यसलाई हटाए पनि आइतबार बिहानैदेखि उनको आलोचनामा सामाजिक सञ्जाल तातिएको छ ।

तपाईको प्रतिक्रिया