ताप्लेजुङ, कात्तिक १३ गते — पाँचौं अन्तर जिल्लास्तरीय आमन्त्रित मेरिङ्देन कप पुरुष फुटबल प्रतियोगिताको उपाधि फुङ्लिङस्थित साथीभाइ युथ क्लबले हात पारेको छ। बुधबार सम्पन्न फाइनल खेलमा जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै साथीभाइले विजेता बन्न सफल भएको हो।

मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा भएको रोमाञ्चक फाइनल खेलमा निर्धारित समयसम्म दुवै टोलीले एक–एक गोल गरेको थियो। बराबरीपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय गरिएको हो।

विजेता साथीभाइ युथ क्लबले उपाधिसँगै एक लाख ५१ हजार १८२ रुपैयाँ नगद पुरस्कार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता जनसेवा आदर्श स्पोर्टिङ क्लबले ८१ हजार १८२ रुपैयाँ नगदसहित पदक र प्रमाणपत्रमा चित्त बुझाएको छ।

तिहार पर्वको अवसरमा आयोजित उक्त प्रतियोगिताको संयोजन पृथ्वी तथा लेस्नमाया स्मृति क्लब, खाम्लुङले गरेको हो। क्लबका अध्यक्ष सुजन सामेखामका अनुसार प्रतियोगिता गत कात्तिक ७ गतेदेखि सुरु भएको थियो। प्रतियोगितामा ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्लाका १० टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको उद्देश्य स्थानीय खेलाडीको प्रतिभा प्रदर्शन र जिल्लाबीच खेलकुदमैत्री सम्बन्ध सुदृढ गर्ने रहेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया