काठमाडौं —
गायक, संगीतकार र निर्देशक गोपाल तिमल्सिनाले नयाँ र्‍याप गीत ‘ क्यारी बन्छ देश’ सार्वजनिक गरेका छन्। समसामयिक राजनीतिक परिवेश, युवाको निराशा र परिवर्तनप्रतिको तृष्णालाई केंद्रमा राखेर तयार गरिएको यो गीतले श्रोता र दर्शकमाझ चर्चा बटुल्दैछ।

गीतमा शब्द, स्वर र संगीत सबै तिमल्सिनाकै छन्। गीतको संगीत संयोजन (एरेन्ज) विष्णु तामाङले गरेका हुन्। र्‍यापको तीक्ष्ण प्रस्तुति र सशक्त शब्दले वर्तमान नेपालको वास्तविकता उजागर गर्ने प्रयास गरिएको छ। तिमल्सिनाको भनाइमा, “यो गीत मनोरञ्जन मात्र होइन, सोच बदल्ने सन्देश पनि हो। हामीले देशलाई बुझ्ने र सुधार्ने जिम्मेवारी लिनुपर्छ भन्ने कुरा गीतमार्फत भनिएको छ।”

भिडियो पक्षमा पनि तिमल्सिनाको नै निर्देशन रहेको छ। राज धामीले सम्पादन, र मिनेश कार्कीले क्यामेरा सञ्चालन गरेका छन्। भिडियोमा गोपाल तिमल्सिना, शिव तिमल्सिना र गोपी सापकोटाका अभिनय देख्न सकिन्छ। भिडियोले गीतका शब्दसँगै नेपालको सामाजिक यथार्थ र युवाको संघर्षलाई दृश्यात्मक रूपले उतारेको छ।

‘ क्यारी बन्छ देश’ शीर्षक आफैंमा प्रश्न हो— देश कहाँ पुग्दैछ ? कसरी अघि बढ्ने ? युवाको भविष्य के हुनेछ ? यी प्रश्नको जवाफ खोज्दै गीतले वर्तमान अवस्थामाथि व्यङ्ग्य र आलोचना दुवै प्रस्तुत गरेको छ। र्‍यापको शब्दशैलीमा युवाको आवाज, सडकको सत्य र देशप्रतिको माया मिसिएको अनुभूति हुन्छ।

गीत सार्वजनिक भएको केही दिनमै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आइरहेका छन्। कतिपय दर्शकले गीतलाई “वास्तविक युवाको आवाज” भनेका छन् भने कतिले “साहित्यिक र राजनीतिक चेतनाको सशक्त रूप” भनेर टिप्पणी गरेका छन्।

संगीत क्षेत्रमा सक्रिय तिमल्सिनाले यसअघि पनि सामाजिक सन्देशयुक्त गीतहरू प्रस्तुत गरिसकेका छन्। तर यो र्‍यापमा उनले आफूभित्रको निराशा र आशा दुवैलाई एकसाथ पोखेका छन्।

तिमल्सिनाका अनुसार, “देशमा परिवर्तनका कुरा धेरै हुन्छन्, तर व्यवहारमा कमी छ। यो गीत त्यही विसङ्गतिमा आवाज उठाउने माध्यम हो।”

‘केरी बन्छ देश’ गोपाल तिमल्सिनाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। शब्द, संगीत र प्रस्तुति तीनै पक्षमा सन्तुलन मिलाएको यो गीतले नेपाली र्‍याप सङ्गीतमा नयाँ सन्देश बोकेको चर्चा सर्वत्र भइरहेको छ।

तपाईको प्रतिक्रिया