काठमाडौं । सोलुखुम्बु र रामेछाप भएर बग्ने लिखु नदीमा निर्माणाधीन हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई भरपुर ठग्ने उपाएको खोजीमा लागेको छ । एमभी दुगड ग्रुपको लगानी रहेको नुम्बुर हिमालय हाइड्रोपावरले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेपछि यस्तो योजनाको पर्दाफाँस भएको हो ।
प्रिमियममा आइपिओ निष्कासनको अनुमति माग्दै यो कम्पनी विगत ५ महिनादेखि बोर्डको पाइपलाइनमा राखेको छ । सो हाइड्रोपावरले स्थानीय जनतालाई अहिलेसम्म कुनै सुविधा नदिएको भन्दै दुई गाउँपालिकाले संयुक्त आन्दोलन गरिरहेका बेला कानुन त एक सय रुपैयामा पाइने शेयरलाई प्रिमियम मूल्य राखेर सर्वसाधारणबाट रकम उठाउन लागेको हो । दुई गाउँपालिका करिब २ सय घर विस्थापित भएको भन्दै आन्दोलन भैरहेको छ ।
कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा ११८ रुपैयाँ प्रिमियम थप गरी २१८ रुपैयाँमा ६५ करोड ५३ लाख ५२ हजार रुपैयाँबराबरको ३० लाख ६ हजार २०२ कित्ता आईपीओ निष्कासनकालागि अनुमति मागेको हो।‘धितोपत्र बोर्डका अध्यक्ष, सञ्चालक, कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर प्रिमियम मूल्य निर्धारण गर्न लागेको हो ।
गत वर्षको पुष महिनाको ७ गते बोर्डमा निवेदन पेश गरेपनि कम्पनीले प्रिमियममा आइपीओ निष्कासन गर्न पाउने नपाउने टुंगो लाग्न सकेको छैन । धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आइपिओ निष्कासनको लागि निवेदन दिएका कम्पनीहरुले तत्कालै अनुमति नपाउने संकेत देखाएको छ ।
यसअघि धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेश कुमार हमालले प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति दिएपछि धितोपत्र दर्ता तथा निष्कासन लगायत नियमावलीहरु अपारदर्शी ढंगले संशोधन गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो ।
यस्तै झमेलाका बीच नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले तत्कालै प्रिमियम मूल्यको आईपीओ निष्कासनको अनुमति नदिने संकेत देखाएका हुन् । यसकारण पछिल्लो समय एक दर्जन कम्पनीको प्रिमियम मूल्यको आईपीओ पेन्डिङमै रहेको छ ।
एमभी दुगड ग्रुपको लगानी रहेको नुम्बुर हिमालयन हाइड्रोपावरले पनि प्रिमियममै आईपीओ ल्याउन बोर्डसँग अनुमति मागेको थियो । सोही ग्रुपकै २.२० प्रतिशत लगानी रहेको हिमालयन रि इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमै आईपीओ जारी गरेको थियो । हिमालयन रि इन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओपछि नै विवाद सुरु भएको थियो ।
एमभी दुगड ग्रुपले पुनः त्यहि विवाद ब्युताउँन खोजिएको देखिएको छ । हिमालयन रि इन्स्योरेन्समा दुगड ग्रुपको २२ लाख ८८ हजार कित्ता सेयर स्वामित्वमा रहेको छ । योसँगै ग्रुपको सानिमा जिआइसी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक र मनकामना हायर पर्चेज प्रालिमा पनि सेयर हिस्सा रहेको छ ।
त्यस्तै, अटोमोबाइल्सतर्फ यो ग्रुपको महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड, जेसिस्ट्स इभी, बीकेटी टायर, टाटा हिताची, जोन डियरी र हाइवामा पनि लगानी रहेको छ । साथै कन्स्ट्रक्सनतर्फ सुमो कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि.मा पनि लगानी रहेको छ ।
एमभी दुगड ग्रुपले चारवटा हाइड्रोपावरमा लगानी गरेको छ । प्यान हिमालयन इनर्जी, नुम्बुर हिमालयन हाइड्रोपावर, ग्लोबल हाइड्रोपावर र नासा हाइड्रोपावरमा समेत यो समूहको लगानी रहेको छ । यी मध्ये तीन वटा लिखुखोलामा सञ्चालित छन् ।
त्यस्तै, कोहीनूर कोल्ड स्टोरेजमा पनि एमभी दुगड ग्रुपले लगानी गरेको छ । यो समूहले लगानी गरेको कम्पनी प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न केन्द्रीत देखिएको छ । यसअघि हिमालयन रि इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ थप गरेर २०८ रुपैयाँमा आइपिओ निष्कासनको अनुमति मागेपनि बोर्डले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आइपिओ निष्कासन गर्न अनुमति दिएको थियो ।
निवर्तमान अध्यक्ष हमालले हिमालयन रि इन्स्योरेन्स र चार जीवन बीमा कम्पनी गरी ५ कम्पनीलाई प्रिमियममा आइपिओ जारी गर्न दिएकै कारण विवादमा तानिएपछि अहिलेका अध्यक्ष श्रेष्ठ भने यो विषयमा मौन रहेका छन् ।