पथरीशनिश्चरे समाचारदाता, असोज–२८
मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा अवस्थित मनकामना सामुदायिक वन समूहको १७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ का अध्यक्ष भीमकुमार राईले मनकामना सामुदायिक वनको सफलताबारे विदेशसम्म चर्चा हुने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “अमेरिकामा रहेका साथीहरूले पनि पथरीको मनकामना सामुदायिक वनमा रहेको कटुसे र ट्रिहाउसको उदाहरण दिन्छन्, जुन यहाँको गौरवको विषय हो।”
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश समिति सदस्य अग्नी पौडेलले देशमा देखिएको विषम परिस्थितिका कारण वनसम्बन्धी कानून संशोधन हुन नसके पनि सामुदायिक वनमा लाग्ने कर कम हुनुपर्ने बताउनुभयो।
खुला सत्रमा समूहका अध्यक्ष उदयकुमार राई (दिनेश)ले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यस्तै, सचिव मञ्जु लिम्बू, कोषाध्यक्ष शान्तमाया शेर्पा र लेखा समिति संयोजक यामबहादुर सुब्बाले आ–आफ्ना प्रतिवेदनहरू पेस गर्नुभयो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङ जिल्ला अध्यक्ष मदन पोखरेल, पथरीशनिश्चरे नगर समिति अध्यक्ष मैना आचार्य, डिभिजन वन कार्यालय पथरीका प्रमुख त्रिभुवन साहा, र सुनाखरी मावि व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राईलगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।
सभाका क्रममा एकल महिला र जेष्ठ उपभोक्ताहरूलाई नगद, टिका र माला लगाएर सम्मान गरिएको थियो।
कार्यक्रम समूहका अध्यक्ष उदयकुमार राई (दिनेश) को सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन कार्यालय सचिव संमृता राईले गर्नुभएको थियो।
–