काठमाडौँ, असोज २५ गते । नेपाल सरकारले इजरायल र हमासबिच भएको शान्ति सम्झौताको स्वागत गरेको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पको ‘मध्य पूर्व शान्ति योजना’ को प्रस्ताव अनुसार शान्ति सम्झौताको पहिलो चरण कार्यान्वयन गर्न इजरायल र हमासबिच भएको सम्झौताको नेपाल सरकारले स्वागत गरेको हो ।

सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “हामी सम्बन्धित सबै पक्षलाई योजनालाई यसको वास्तविक भावनामा कार्यान्वयन गर्न, गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न र युद्धग्रस्त क्षेत्र तथा अन्य क्षेत्रमा समेत दिगो शान्तिको मार्गप्रशस्त गर्न आग्रह गर्दछौँ ।” साथै नेपाल सरकारले यो बहुप्रतीक्षित सम्झौतालाई सफल कार्यान्वयनमा ल्याउन महत्वपूर्ण भूमिका खेलेकोमा संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्की सरकारको प्रशंसा गरेको छ ।

मन्त्रालयका अनुसार सन् २०२३ को ७ अक्टोबरमा दुई पक्षबिच सुरु भएको युद्धकाबिच हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीलगायत सबै बन्धकको तत्काल रिहाइका लागि आह्वान गरिएको छ । जोशीको वर्तमान अवस्था हालसम्म थाहा हुन सकेको छैन । विपिनकी आमासहित बहिनी पुष्पा जोशीले अमेरिकाको न्युयोर्कमा रिहाइको अपिल गरिरहनुभएको छ ।

सम्झौताको आधार बनाउन हमासले बन्धक बनाएका व्यक्तिको पछिल्लो सूची इजरायल सरकार र मध्यस्थकर्तामाझ बुझाएको जनाइएको छ ।

पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सार्वजनिक ४८ जनाको सूची अुनसार २० जना जीवितै रहेको प्रस्ट उल्लेख छ भने विपिन जोशी र अर्का बन्धकको अवस्था भने हालसम्म थाहा हुन नसकेको अवस्थामा छ । अन्य २६ जना मारिइसकेको अनुमान पनि गरिएको छ ।

आगामी सोमबारसम्म बाँकी बन्धक रिहा गर्ने सहमति भएको छ । तथापि बन्धक मुक्त भएर हस्तान्तरण नगरिएसम्म को को जीवित छन् र को मारिए वा बेपत्ता छन् भन्ने कुरा अन्योलमै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया