काठमाण्डौ – साउन महिनाको पहिलो सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । दर्शनार्थीको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारवटै ढोका बिहानै खोलिएको छ ।

यस्तै पशुपतिनाथ दर्शन गर्ने भक्तजनलाई निःशुल्क बससेवा शुरु गरिएको छ । चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालमा रहेको बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले गरेको हो ।

पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलोपटक हो । मूल मन्दिरमा भीड नहुने गरी साउने सोमवारको दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषको दाबी छ ।

नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिर बाहिरको भागमा ‘टेन्ट’ को व्यवस्था गरेको छ । पशुपतिसहित देशभरका प्रमुख शिवालयहरूमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ । यो महिना विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन छ ।

तपाईको प्रतिक्रिया