मोरङ । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि बलात्कार र कुटपिट गरेको आरोपमा प्रहरीले उनका ससुरा र श्रीमान्लाई पक्राउ गरेको छ। बालिकालाई कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति ५५ वर्षीय ससुराले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ। घटनाबारे जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउ परेका उनीमाथि मङ्सिर १ गते अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उक्त घटनापछि बालिकाका २३ वर्षीय श्रीमान्ले आफ्नी आमाकै अगाडि बालिकासँग सोधपुछ गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ। उनले कुटपिटको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
भिडियो सार्वजनिक भएपछि प्रहरीले बुधबार बालिकाका श्रीमान्लाई पनि पक्राउ गरेको हो। उनीमाथि विद्युतीय अपराध तथा बालविवाहसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय पथरीले थप अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले महिला तथा बालबालिकाविरुद्ध हुने अपराधमा प्रहरीले शून्य सहनशीलताको नीति अपनाउँदै आएको बताए।
प्रहरीले घटनामा संलग्न आरोपितहरूमाथि कानुनअनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।





