अविनाश चौधरी

धनगढी, मंसिर ५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजलाई सकारात्मक रुपले अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र धनगढीको ३५ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वमा बढ्दै गएको द्वन्द्व, अशान्ति र विभिन्न अभावका बिच शान्तिको कामना भइरहेको वर्तमान अवस्थामा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा ओम शान्ति परिवारले समाजमा शान्ति, सदाचार र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।

विश्वमा विभिन्न विनाशकारी प्रवृत्ति बढ्दै गएको र समाजमा दया, करुणा तथा सद्भाव कमजोर हुँदै गएको अवस्थामा नयाँ दर्शन, विचार र सदाचारको विकास गर्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउनु आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री भट्टले समाज रूपान्तरणका लागि यस संस्थाले गर्दै आएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्थाको सर्वाङ्गीण विकासमा प्रदेश सरकारको सकारात्मक भूमिका रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै संघीयताका कारण स्थानीय आवश्यकता र नागरिकका अपेक्षा अनुसारका साना–ठुला विकास निर्माणका काम प्रदेशस्तरबाट गर्न सम्भव भएको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले निर्माण गरेका संरचना तथा उपलब्ध गराएका सेवा–सुविधाको उपयोग र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “प्रदेशमा केही काम नै भएको छैन भन्ने भाष्य निर्माण गरिनु दुःखद हो ।”

सरकारका कामप्रति हुने रचनात्मक आलोचना र खबरदारीलाई आफूले सधैँ सकारात्मक रूपमा लिने उहाँको भनाइ छ । मुख्यमन्त्रीले समाजमा सकारात्मक सोच, नैतिक मूल्य, आध्यात्मिक चेतना र आपसी सद्भावको विकास गर्दै समुन्नत समाज निर्माणमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया