विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीका ३२ वर्षीय राजन दासको हत्या प्रकरणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीले शुक्रबार तीन जना र शनिबार थप एक जनालाई नियन्त्रणमा लिएको हो । उनीहरू २० देखि ३० वर्ष उमेर समूहका र विराटनगर–४ कै बासिन्दा रहेको प्रहरी स्रोतले जनाएको छ । मृतक दासका छिमेकी तथा साथी रहेका उनीहरूको पहिचान भने प्रहरीले गोप्य राखेको छ । प्रहरीका अनुसार मोबाइल चोरीको आरोप लगाउँदै उनीहरू दासको घर पुगेका थिए । मोबाइल चोरीको विषयलाई लिएर दासलाई हत्या गर्ने धम्कीसमेत दिएको जानकारी परिवारले प्रहरीलाई गराएको थियो । नियन्त्रणमा लिइएकाहरू लागुऔषध सेवनकर्ता रहेको प्रहरी स्रोतको भनाइ छ । उनीहरूमाथि हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको भए पनि कसैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छैनन् । सोधपुछका क्रममा उनीहरूको बयानसमेत बाझिएको स्रोतले जनाएको छ ।
विराटनगरका राजन दास हत्या प्रकरणमा छिमेकी र साथी गरी चार जना पक्राउ





