काठमाडौं – हिमालयन बैंक लिमिटेडको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा करिब दुई सातादेखि अवरुद्ध हुँदा ग्राहक समस्यामा परेका छन् । बैंकले प्रणाली मर्मत तथा स्तरोन्नति (सिस्टम अपग्रेड) भइरहेको भन्दै सेवा बन्द गरेपछि विशेषगरी तिहारको समयमा दैनिक भुक्तानी र वित्तीय कारोबार गर्नुपर्ने सेवाग्राही प्रभावित भएका हुन् ।

बैंकले सार्वजनिक सूचना जारी गर्दै मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणालीमा आवश्यक मर्मत तथा स्तरोन्नतिको काम भइरहेको जनाएको छ । सेवा पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिएको र सेवा सुरु भएपछि आधिकारिक माध्यमबाट जानकारी गराइने बैंकको भनाइ छ । सेवा अवरुद्ध भएको असुविधाप्रति बैंकले ग्राहकसँग क्षमायाचना पनि गरेको छ ।

तर, झन्डै दुई सातासम्म डिजिटल बैंकिङ सेवा सञ्चालनमा आउन नसक्दा बैंकका ग्राहकले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरिरहेका छन् । चाडपर्वको समयमा रकम पठाउन, बिल भुक्तानी गर्न र दैनिक कारोबार गर्न समस्या भएको उनीहरूको गुनासो छ । बैंकिङ क्षेत्रका जानकारहरूले पनि प्रणाली स्तरोन्नतिका लागि यति लामो समय सेवा अवरुद्ध हुनु अस्वाभाविक भएको बताएका छन् ।

पक्षीविज्ञ हेमसागर बरालले बैंकको सेवा अवरुद्ध हुँदा चितवनमा होटलको बिलसमेत तिर्न नसकेको अनुभव सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन् । गुनासो दर्ता गराउँदासमेत समस्या समाधान नभएको उल्लेख गर्दै उनले बैंकका कर्मचारीलाई ग्राहकप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् ।

त्यस्तै, सामाजिक सञ्जाल प्रयोगकर्ता कृष्ण घर्ती मगरले प्राविधिक मर्मत तथा प्रणाली स्तरोन्नतिको नाममा पटक–पटक डिजिटल सेवा बन्द हुने र मोबाइल एपमा त्रुटि देखिने समस्या सामान्यजस्तै बनेको टिप्पणी गरेका छन् । उनले आपत्कालीन अवस्थामा उपचार खर्च, अत्यावश्यक भुक्तानी वा व्यापारिक कारोबार गर्नुपर्ने ग्राहकले सेवा अवरुद्ध हुँदा भोग्ने समस्याको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन् । यस्तो अवस्थालाई नेपाल राष्ट्र बैंकले गम्भीरतापूर्वक लिएर नियमन तथा अनुगमन गर्नुपर्ने उनको माग छ ।

स्थानीय तहमा अन्य बैंकको विकल्प नभएका ठाउँका ग्राहकले झन् बढी सास्ती भोग्नुपरेको गुनासो गरेका छन् । ‘मर्स्याङ्दी डायरिज’ नामक फेसबुक पेजले हिमालयन बैंकको मोबाइल बैंकिङ सेवा १० दिनदेखि नचलेको उल्लेख गर्दै चाडपर्वमा स्थानीयवासीलाई समस्या भएको जनाएको छ । अघिल्लो वर्ष पनि यही समयमा लामो समय सेवा अवरुद्ध भएको स्मरण गराउँदै उसले स्थानीयस्तरमा एउटै बैंकमा निर्भर नागरिकका लागि स्थायी समाधान खोज्नुपर्ने बताएको छ ।

सेवाग्राही भानु चापागाईंले पनि बैंकको मोबाइल बैंकिङ सेवा भरपर्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । अधिकांश कारोबारमा एपले सहयोग नगर्ने र कहिलेकाहीँ महिनौँसम्म सेवा नचल्ने गरेको उनको गुनासो छ । उषा शाहले चाडपर्वका बेला मोबाइल बैंकिङ बन्द हुँदा घरको किस्ता तिर्न र परिवारको खातामा रकम पठाउन समस्या भएको उल्लेख गरेकी छन् ।

अर्का ग्राहक राजन चगुठीले अनलाइन बैंकिङ सेवा कहिले सञ्चालनमा आउँछ भन्दै प्रश्न गरेका छन् भने रोशन जोशीले सेवा नियमित नभए बैंकमा रहेको खाता बन्द गर्ने चेतावनी दिएका छन् । ग्राहक तुलसीराम पौड्यालले पनि गत वर्ष चाडपर्वकै समयमा बैंकको एप लामो समय बन्द भएको स्मरण गर्दै यस वर्ष पनि उस्तै समस्या दोहोरिएको भन्दै बैंकको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

ग्राहकबाट आलोचना र गुनासो बढेपछि बैंकले आफ्नो आधिकारिक फेसबुक पेजका अधिकांश पोस्टमा टिप्पणी गर्न नमिल्ने बनाएको छ । यसले ग्राहकका गुनासा सुन्ने र सम्बोधन गर्ने बैंकको तत्परतामाथि थप प्रश्न उठाएको छ ।

यस विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलसँग सम्पर्क गर्ने प्रयास भए पनि सम्पर्क हुन सकेन । राष्ट्र बैंककी सहप्रवक्ता तथा सूचना अधिकारी सुधा श्रेष्ठले भने यसबारे आफू जानकार नरहेको प्रतिक्रिया दिएकी छन् । बैंकका सूचना अधिकारीसँग पनि प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

हिमालयन बैंकमा डिजिटल बैंकिङ सेवा अवरुद्ध भएको यो पहिलो घटना होइन । गत वर्ष पनि कोर बैंकिङ सफ्टवेयर स्तरोन्नतिको भन्दै बैंकले झन्डै एक महिनासम्म सेवा प्रभावित पारेको थियो । यसपटक भने सेवा अवरुद्ध भएको भोलिपल्ट अर्थात् नोभेम्बर २ मा मात्र बैंकले सार्वजनिक सूचना जारी गरेको थियो । तर, हालसम्म पनि सेवा लामो समयसम्म अवरुद्ध हुनुको स्पष्ट प्राविधिक कारण र पुनः सञ्चालन हुने निश्चित समय सार्वजनिक गरेको छैन ।

डिजिटल कारोबारमा निर्भरता बढिरहेका बेला बैंकिङ सेवा लामो समय अवरुद्ध हुनु ग्राहकको सुविधा र विश्वाससँग जोडिएको विषय हो । प्राविधिक स्तरोन्नति आवश्यक भए पनि त्यसको पूर्वसूचना, वैकल्पिक सेवा र अवरोधको समयसीमाबारे स्पष्ट जानकारी दिनु बैंकको जिम्मेवारी हो ।

तपाईको प्रतिक्रिया