काठमाडौँ । सार्वजनिक स्थानमा जथाभावी पर्चा, पम्प्लेट तथा पोस्टर टाँसेर सहरको सौन्दर्य बिगारेको र फोहोरमैला गरेको भन्दै काठमाडौँ महानगरपालिकाले आकृति एडभरटाइजिङलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३ अन्तर्गतका सार्वजनिक स्थानमा महानगरपालिकाको नियमविपरीत अनधिकृत रूपमा प्रचार सामग्री टाँसेको पाइएपछि महानगर प्रहरी बलले उक्त कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना गरेको हो।
महानगरपालिकाले सार्वजनिक स्थान, सडकका भित्ता तथा अन्य संरचनामा अनुमति नलिई पोस्टर, पर्चा र पम्प्लेट टाँस्ने कार्यले सहरको सौन्दर्यमा असर पुर्याउनुका साथै वातावरण प्रदूषित बनाउने जनाएको छ।
महानगर प्रहरी बलले सार्वजनिक स्थानको सरसफाइ, सहरी सौन्दर्य र स्वच्छता कायम राख्न नियमविपरीत प्रचार सामग्री टाँस्ने कार्य नगर्न सम्बन्धित व्यक्ति, संस्था तथा विज्ञापन कम्पनीहरूलाई आग्रह गरेको छ।
महानगरपालिकाले सार्वजनिक स्थानको दुरुपयोग गरी जथाभावी प्रचार सामग्री टाँस्ने कार्य नगर्न र प्रचलित नियमको पालना गर्न सबैलाई सचेत गराएको छ।





