भोजपुर / भोजपुरका प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्याल नेतृत्वको जिल्ला सुरक्षा समितिको टोलीले जिल्लाको सुरक्षा अवस्था र प्रहरी सेवाको प्रभावकारिताबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ ।
टोलीले इलाका प्रहरी कार्यालय दिङ्ला र त्यसअन्तर्गतका प्रहरी इकाइहरूको निरीक्षण गर्दै नागरिकको सुरक्षा, शान्ति–सुव्यवस्था कायम तथा प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको हो ।
निरीक्षणका क्रममा प्रहरी कार्यालयहरूको भौतिक अवस्था, जनशक्तिको कार्यसम्पादन, कार्यालय व्यवस्थापन, सेवा प्रवाह र शान्ति–सुरक्षा व्यवस्थापनका विविध पक्षबारे जानकारी लिइएको थियो । साथै कार्यालय सञ्चालनमा देखिएका समस्या, चुनौती तथा सुधार गर्नुपर्ने विषय पहिचान गरी आवश्यक सुझाव र निर्देशनसमेत दिइएको थियो ।
जिल्ला सुरक्षा समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी अर्यालले प्रहरी कर्मचारीलाई नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए । प्रहरी सेवा छिटो, सहज र प्रभावकारी बनाउँदै नागरिकमा सुरक्षाको अनुभूति दिलाउनुपर्नेमा टोलीले जोड दिएको थियो ।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्का तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म टक्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश आचार्यलगायत सुरक्षा अधिकारी सहभागी थिए ।





