साहारा लिम्बू
फुङ्लिङ, कात्तिक २२ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल पाथीभरामा पछिल्लो समय दर्शनार्थीको चाप बढ्दै गएको छ । मौसममा सुधार आएसँगै देशको विभिन्न जिल्लासहित भारतको सिक्किम र दार्जिलिङबाट समेत भक्तजन दर्शनका लागि आउन थालेपछि पाथीभरामा चहलपहल बढेको हो ।
समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरामा शनिबार मात्रै तीन हजार १२२ जना भक्तजनले पूजापाठ तथा दर्शन गरेका छन् । यसअघि गत मङ्गलबार एकै दिन १० हजार ६१६ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । उक्त सङ्ख्या यस वर्षकै उच्च हो।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार आइतबार ६४० जना र सोमबार तीन हजार ५९० जना भक्तजनले दर्शन गरेका थिए । केही दिनअघिसम्म दर्शनार्थीको चहलपहल न्यून रहेको पाथीभरामा कात्तिक तेस्रो सातादेखि भक्तजनको आगमन बढ्न थालेको हो ।
गत वर्ष नवरात्र सुरु भएसँगै पाथीभरामा दर्शनार्थीको भीड लाग्ने गरेको थियो । तर, यस वर्ष शुक्र अस्तलगायतका कारण धार्मिक यात्रा गर्नेको सङ्ख्या कम भएको थियो । त्यस्तै, मौसमविद्ले लगातार वर्षा हुने पूर्वानुमान गर्दै टाढाको यात्रा नगर्न आग्रह गरेपछि पनि दर्शनार्थीको आगमन प्रभावित भएको थियो ।
कात्तिक तेस्रो साताअघि नै मौसममा सुधार आएपछि तीर्थयात्राका लागि अनुकूल वातावरण बनेको समितिले जनाएको छ । मौसम अनुकूल भएसँगै पाथीभरा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या क्रमशः बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।





