काठमाडौँ । चाडपर्वको रौनकसँगै नेपाली सङ्गीत बजारमा नयाँ प्रस्तुति थपिएको छ। गायिका तथा र्यापर हेनी बेकर अर्थात् जेनी तामाङको नयाँ गीत ‘जाउ है’ सार्वजनिक भएको छ। सुपरस्टार इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबार साँझ गीतको भिडियो सार्वजनिक गरिएको हो।
तिहार तथा छठको रमाइलो वातावरणमा दर्शक तथा श्रोताका लागि विशेष सांगीतिक कोसेलीस्वरूप ‘जाउ है’ ल्याइएको हेनीले बताएकी छन्। आफूलाई निरन्तर माया गर्ने दर्शकप्रति धन्यवाद व्यक्त गर्दै नयाँ गीतमार्फत उनीहरूसँग जोडिने प्रयास गरेको उनको भनाइ छ।
यस गीतको भिडियोमा हेनी बेकर स्वयं मुख्य भूमिकामा प्रस्तुत भएकी छन्। नेपालको उच्च हिमाली भेगका सुन्दर स्थानमा छायाङ्कन गरिएको भिडियोमा प्राकृतिक दृश्य र हिमाली सौन्दर्यलाई विशेष प्राथमिकता दिइएको छ। “बिXधान ” को नयाँ परिकल्पना तथा दृष्टिकोणमा तयार भएको भिडियोको निर्देशन विधान प्रधानले गरेका हुन्। यसको निर्माणको जिम्मेवारी एक्स–थेटिक स्टुडियोले सम्हालेको छ।
सुपरस्टार इन्टरटेनमेन्टको यस वर्षको तेस्रो श्रव्यदृश्य परियोजनाका रूपमा ‘जाउ है’ सार्वजनिक भएको हो। यसअघि कम्पनीले रुथलेक्सको ‘नखोज मेरो फाइदा तिमी’ र आर. रोयलको ‘माया बस्ला है’ सार्वजनिक गरेको थियो। दुवै गीतले युट्युबमा मिलियनभन्दा बढी दर्शकको साथ पाउँदै राम्रो चर्चा बटुलेका थिए।





