उर्लाबारी / इच्छाशक्ति, सामूहिक प्रयास र केही गरौँ भन्ने हुटहुटी भयो भने असम्भव केही छैन भन्ने उदाहरण उर्लाबारीका युवाहरूले प्रस्तुत गरेका छन्। उनीहरूको सिर्जनशील सोच र सक्रियताले मोरङको उर्लाबारी–७ स्थित बरगाछी–बाघखोर सडक यतिबेला झिलिमिली बनेको छ। दीपावलीको अवसरमा आकर्षक बत्तीले सजिएको यो सडक स्थानीयको आकर्षणको केन्द्र बन्न थालेको छ।
उर्लाबारीमा पर्यटक आकर्षित गर्ने, स्थानीय व्यापार–व्यवसायलाई चलायमान बनाउने र आफ्नो क्षेत्रलाई सुन्दर तथा आकर्षक बनाउने उद्देश्यसहित राजन रायमाझी, सन्देश कार्कीलगायतका जागरुक युवाहरूले यो रचनात्मक अभियान अघि बढाएका हुन्।
सडकलाई आकर्षक गन्तव्यमा बदल्ने युवाहरूको प्रयासले अहिले सकारात्मक परिणाम देखाउन थालेको छ। सडकमा रंगीचंगी बत्ती जडान गरिएसँगै साँझपख त्यहाँ घुम्न आउने, फोटो खिच्ने तथा टिकटक र रिल्स बनाउनेहरूको घुइँचो लाग्न थालेको छ। साँझ पर्दै जाँदा झिलिमिली बत्तीले सडकको दृश्य नै मनमोहक बनाउने गरेको छ।
सामान्यतया सडकलाई आवतजावतको माध्यमका रूपमा मात्र लिइने भए पनि युवाहरूले त्यसैलाई मनोरञ्जन, घुमफिर र सामाजिक सञ्जालमा रमाउने आकर्षक स्थलका रूपमा विकास गर्ने प्रयास गरेका छन्। यसले उर्लाबारीमा नयाँ गन्तव्यको सम्भावना देखाउनुका साथै स्थानीयस्तरमै केही नयाँ गर्न सकिन्छ भन्ने सन्देशसमेत दिएको छ।
‘बरगाछी–बाघखोर सौन्दर्यकरण अभियान’ अन्तर्गत सञ्चालन गरिएको यस कार्यमा करिब ४ लाख ५० हजार रुपैयाँ खर्च भएको अभियान्ता राजन रायमाझी ले बताए । अभियानका लागि आवश्यक आर्थिक स्रोत सामाजिक संघसंस्था, स्थानीयवासी तथा विभिन्न सहयोगीहरूबाट जुटाइएको हो।
सडकमा बढ्दै गएको चहलपहलले आसपासका पसल तथा व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। आन्तरिक पर्यटकको आवागमन बढाउन सके स्थानीय उत्पादन, होटल, खाजा घर , पसल तथा अन्य व्यवसायले पनि लाभ लिन सक्ने बरगाछी – बाघखोर सौर्न्दर्यकरण अभियानका अध्यक्ष सन्देश कार्की बताउछ्न। यसै लाई मध्य नजर राखेर सोही स्थानमा आगामी कार्तिक २३ गते लक्ष्मी पुजाको दिन बृहत सांस्कृतिक कार्यक्रम राखिएको उनले बताए ।
विकासका लागि सधैँ ठूलो बजेट र सरकारी योजनाकै प्रतीक्षा गर्नुपर्छ भन्ने छैन। स्थानीय आवश्यकता पहिचान गरेर इच्छाशक्ति, सहकार्य र जनसहभागिताका साथ अघि बढ्न सके सानो पहलले पनि ठूलो परिवर्तनको ढोका खोल्न सक्छ भन्ने उदाहरण बरगाछी–बाघखोर सौन्दर्यकरण अभियान बनेको छ।
उर्लाबारीको पहिचानलाई थप आकर्षक बनाउने र पर्यटकीय सम्भावनालाई उजागर गर्ने यो प्रयासलाई निरन्तरता दिन सके बरगाछी–बाघखोर सडक भविष्यमा स्थानीयको घुमफिर गर्ने लोकप्रिय गन्तव्य बन्न सक्ने देखिन्छ।
साँच्चै, इच्छाशक्ति भयो भने परिवर्तन सम्भव छ। बरगाछी–बाघखोर सडकको झिलिमिलीले यही कुरा प्रमाणित गर्ने प्रयास गरेको छ।
– उर्लाबारी न्यूजको सहयोगमा

तपाईको प्रतिक्रिया