रंगेली/  मोरङको रंगेली प्रहरीले चोपराहा सीमा नाकाबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको ६.७३० ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अशोक कुमार झाको नेतृत्वमा खटिएको प्रहरी टोलीले चोप्रहा बोर्डरबाट शंकास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–८ निवासी वीरबहादुर कटुवालका २६ वर्षीय छोरा खिमबहादुर कटुवाल रहेका छन्। उनको मलद्वारमा लुकाएर ल्याइएको ४.२३० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, बेलबारी नगरपालिका निवासी ३३ वर्षीय विवेक राईको मलद्वारमा लुकाएर ल्याइएको २.५०० ग्राम उक्त पदार्थसमेत बरामद भएको छ।

दुवै जनाबाट गरी कुल ६.७३० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।

रंगेलीका विभिन्न सीमावर्ती नाकाबाट पटक–पटक लागूऔषध भित्रिने घटनाहरू सार्वजनिक भइरहेका बेला चोप्रहा बोर्डरबाट भएको पछिल्लो बरामदगीले सीमा क्षेत्रमा लागूऔषध ओसारपसारको चुनौतीलाई पुनः उजागर गरेको छ।

लागूऔषध कारोबारीले प्रहरीको निगरानी छल्न शरीरका संवेदनशील अंगमा समेत लागूऔषध लुकाएर ओसारपसार गर्न थालेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी र चेकजाँच थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

तपाईको प्रतिक्रिया