- दिलीप कुमार अग्रवाल

 

दिलीप कुमार अग्रवाल
रंगेली, मोरङ

तिहार भन्नेबित्तिकै मेरो मनमा सबैभन्दा पहिले बाल्यकालका ती सुन्दर र अविस्मरणीय दिनहरू सम्झनामा आउँछन्। अहिले सम्झँदा लाग्छ, ती दिनहरू साँच्चै कति रमाइला थिए। तर समयसँगै ती दिनहरू बितेर गए, अब चाहेर पनि फर्काएर ल्याउन सकिँदैन।

बाल्यकालमा तिहार आउनुअघि नै घरमा छुट्टै रौनक हुन्थ्यो। घरको बाहिर केराेँको रूख गाडेर त्यसमा बाँसको बत्ती राख्ने र माटोको दियो बालेर घर उज्यालो बनाउने चलन थियो। हामी सबै साथीहरू भेला भएर पटाका पड्काउँदै गाउँभरि घुम्थ्यौँ। त्यसपछि घर फर्किएर आमाले आफ्नै हातले पकाउनुभएका मिठा-मिठा परिकार खाँदाको आनन्द नै बेग्लै थियो।

आज ती दिन सम्झँदा मन निकै भावुक हुन्छ। न त आज आमा हुनुहुन्छ, न त बाल्यकालका ती साथीहरू पहिलेझैँ सँगै छन्। आमाको हातले पकाएको खाना र साथीहरूसँग बिताएका ती रमाइला क्षण सम्झँदा कहिलेकाहीँ आँखाबाट आँसु नै झर्छ।

त्यतिबेलाको देउसीभैलोको रमाइलो पनि छुट्टै थियो। अहिले जस्तो पैसाको धेरै महत्त्व थिएन। हामी साथीहरू मिलेर घरघरमा देउसी खेल्न जान्थ्यौँ। देउसी खेलेर जम्मा भएको पैसाले सबै साथीहरू मिलेर फुटबल, क्रिकेटलगायत खेलकुदका सामग्री किन्थ्यौँ। त्यसपछि वर्षभरि त्यही सामग्रीबाट खेल्दै रमाउँथ्यौँ। पैसाभन्दा पनि साथीभाइसँग मिलेर रमाउनु नै हाम्रो ठूलो खुसी थियो।

तिहारसँग जोडिएको एउटा घटना आज पनि सम्झनामा ताजै छ। एकपटक हामी साथीहरू मिलेर पटाका पड्काइरहेका थियौँ। त्यही क्रममा एकजना साथीको हात पटाकाले जलेको थियो। त्यस घटनाले हाम्रो तिहारको रमाइलो नै खल्लो बनाइदिएको थियो। बाल्यकालका ती घटना अहिले सम्झँदा जीवनका अविस्मरणीय अनुभवजस्तै लाग्छन्।

भाइटीकाको आफ्नै महत्त्व र खुसी थियो। कहिले दिदीहरू घर आउनुहुन्थ्यो त कहिले हामी दिदीको घर टीका लगाउन जान्थ्यौँ। सामान्य अवस्थामा घरबाट बाहिर जान सजिलो थिएन, तर भाइटीकामा दिदीको घर जान्छु भन्दा आमा-बुवाले खुसीसाथ अनुमति दिनुहुन्थ्यो। दिदीको घरमा मिठा-मिठा खानेकुरा खान पाइने, पैसा पाउने र घुम्न पाउने भएकाले त्यो दिनको प्रतीक्षा हामी निकै उत्सुकताका साथ गर्थ्यौँ।

आज उमेरले ५० वर्षको हाराहारीमा आइपुग्दा जीवनको व्यस्तता पनि बढेको छ। छोराछोरीको पढाइ, घरपरिवार र कामकाजमै दिन बित्न थालेको छ। अहिले तिहार आउँछ, उज्यालो हुन्छ, रमाइलो पनि हुन्छ, तर बाल्यकालमा जस्तो उमङ्ग र खुसी भने महसुस हुँदैन।

कहिलेकाहीँ लाग्छ, फेरि एकपटक त्यही बाल्यकालमा फर्किन पाए हुन्थ्यो। आमाको हातले पकाएको खाना खान पाए हुन्थ्यो, पुराना साथीहरूसँग गाउँभरि देउसी खेल्न पाए हुन्थ्यो र भाइटीकामा दिदीको घर जाने ती दिनहरू फेरि अनुभव गर्न पाए हुन्थ्यो।

समय बिते पनि सम्झनाहरू कहिल्यै पुराना हुँदैनन्। बाल्यकालको तिहार मेरा लागि केवल एउटा चाड होइन, आमाको माया, साथीभाइको साथ र परिवारसँग बिताएका अमूल्य क्षणहरूको मीठो सम्झना हो। ती दिनहरू अब फर्केर आउँदैनन्, तर मनको कुनामा सधैँ जीवित रहनेछन्।

तपाईको प्रतिक्रिया