जनकपुरधाम – मधेश प्रदेश सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले राजीनामा बुझाएका हुन्।

राजनीतिक निकासका लागि सामूहिक राजीनामा दिएको उनीहरूले पत्रमा उल्लेख गरेका छन् । पत्रमा भनिएको छ, ‘राजनीतिक निकासका लागि हामी नेपाली कम्युनिस्ट पार्टीका तपसिलका मन्त्रीहरूको सामूहिक राजीनामा पेस गर्दछौँ । यहाँले गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।’

सामूहिक राजीनामा दिएसँगै नेकपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । पार्टीले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएको छ ।

यस अघि नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको मधेस सरकारमा नेकपा एमाले र नेकपा सहभागी थियो । हाल एमाले र नेकपाले समर्थन फिर्ता लिइसकेको छ ।

तपाईको प्रतिक्रिया