गैँडाकोट, २१ कात्तिक, विद्यालय तथा कलेज तहका विद्यार्थीलाई पर्यटन शिक्षा, नेतृत्व विकास र दिगो पर्यटन प्रवद्र्धनमा सक्रिय बनाउने उद्देश्यले आयोजित राष्ट्रिय दिगो पर्यटन क्लब गण्डकी प्रदेशस्तरीय दुईदिने क्षमता अभिवृद्धि तथा गन्तव्य प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।
कात्तिक १९ र २० गते गैँडाकोटस्थित होटल इल्ला कम्फर्टमा सञ्चालित कार्यक्रममा १० विद्यालय तथा कलेजका प्रधानाध्यापक, क्याम्पस प्रमुख, क्लब संयोजक र विद्यार्थी कप्तानसहित गैँडाकोट नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता भएको थियो । कार्यक्रममा गैडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी तथा नगरपालिकाको शिक्षा इकाइका प्रमुख रामप्रसाद अधिकारीको सहभागिता रहेको थियो । कार्यक्रम नगर प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथीले गैँडाकोटको पर्यटनबारे वर्णन गर्दै नगरपालिका पर्यटन प्रवद्र्धनमा निरन्तर लाग्ने बताउनुभएको छ । त्यस्तै, नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद अधिकारीले विद्यालयमा पर्यटन शिक्षा र पर्यटन प्रवद्र्धनका लागि दिगो पर्यटन क्लब सक्रिय हुनुपर्ने बताउनुभयो । साथै, गैँडाकोट इङ्लिस स्कुलका प्राचार्य हिरालाल अर्यालले पर्यटन प्रवद्र्धन कार्यक्रम भन्नेबित्तिकै आफूले प्राथमिकताका साथ गैँडाकोटमै गराउन प्रयत्न गरेको र यसले गैँडाकोट तथा गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट इङ्लिस स्कुल, विजय सामुदायिक शिक्षा सदन, श्री शिव माध्यमिक विद्यालय कावासोती, जनप्रिय मल्टिपल क्याम्पस पोखरा, न्यू ग्यालेक्सी स्कुल पोखरा, एनटीएचएमसी कलेज पोखरा, बालोदय माध्यमिक विद्यालय पोखरा, श्री प्रभात माध्यमिक विद्यालय चितवन, मदरल्यान्ड इङ्लिस स्कुल चितवन र बालकुमारी कलेज चितवनका प्रतिनिधि तथा विद्यार्थी सहभागी थिए ।
पर्यटन अनुसन्धान तथा तालिम संस्था टीआरटीआई को आयोजना तथा नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजना एसटीपी, यूएनडीपीको साझेदारीमा ग्लोबल ट्राभल एन्ड टुरिजम पार्टनरसिप –जीटीटीपी) नेपाल, इल्ला होटल र गैँडाकोट नगरपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको पहिलो दिन स्वागत, परिचय तथा सञ्जाल विस्तार सत्र सञ्चालन गरिएको थियो । सहभागी विद्यालय, शिक्षक, विद्यार्थी तथा पर्यटन क्षेत्रका सरोकारवालाबीच अनुभव आदानप्रदान र आपसी सहकार्यका सम्भावनाबारे छलफल गरिएको थियो । पहिलो दिनको समापन एनएसटीसी मैत्री रात्रिभोजसहित गरिएको थियो ।

दोस्रो दिन क्लबको प्रभावकारी सञ्चालन, विद्यार्थी नेतृत्व विकास, दिगो पर्यटन, गन्तव्य प्रवद्र्धन, सामुदायिक सहभागिता तथा पर्यटन क्षेत्रमा युवा अवसरका विषयमा क्षमता अभिवृद्धि तालिम र अन्तरक्रियात्मक कार्यशाला सञ्चालन गरिएको थियो ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘मेरो पर्यटन यात्रा’ शीर्षकको प्रेरणादायी अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो । सत्रमा पर्यटन विज्ञ डा. रामजी शर्मा, आतिथ्य सत्कार क्षेत्रका विज्ञ तथा एनटीएचएमसीका प्रिन्सिपल प्रकाश रेग्मी र होटल इल्ला कम्फर्ट एन्ड रिसोट्र्सका महाप्रबन्धक प्रदीप न्यौपानेले आफ्ना व्यावसायिक अनुभवका साथै नेपालको पर्यटन विकासमा शिक्षक तथा विद्यार्थीको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयलाई स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा गैँडाकोट इङ्लिस स्कुलमा देशको १५८औँ राष्ट्रिय दिगो पर्यटन क्लब गठन गरिएको छ । क्लबमा प्राचार्य हिरालाल अर्याल संरक्षक रहनुभएको छ भने प्रार्थना गिरी क्लब क्याप्टेन रहनुभएको छ । गैँडाकोट स्कुलमा कार्यक्रममा सहभागी सम्पूर्ण ३५ जनाको उपस्थितिमा पर्यटन क्लबको स्थापना भएको थियो ।

कार्यक्रममा सहभागी स्कुल तथा कलेजका क्लब क्याप्टेन, प्राचार्य तथा संयोजकले दिएका सुझावका आधारमा आगामी वर्ष क्लब कसरी सञ्चालन गर्ने भन्ने घोषणापत्र तयार पारिएको छ । कार्यक्रममा बालोदय स्कुल पोखराका प्राचार्य टेक राज पौडेल, जनप्रिय कलेज पोखराका प्रमुख कृष्णबाबु बराल, गैँडाकोट स्कुलका प्राचार्य हिरालाल अर्याल, शिव सेकेन्डरी स्कुल कावासोतीका प्राचार्य अर्जुन पौडेल, गैँडाकोट इङ्लिस स्कुलकी निर्देशक रेखा श्रेष्ठ लगायतका सम्पूर्ण सहभागीले कार्यक्रमको सार प्रस्तुत गर्दै पर्यटनबाटै देशलाई समृद्ध बनाउने आधार प्रस्तुत गर्नुभएको थियो ।
गण्डकी प्रदेशका अन्य क्लबलाई समेटेर पोखरा वा अर्जुनचौपारी पालिकामा पनि क्लब क्षमता अभिवृद्धि कार्यक्रम गरिने भएको छ ।
यसै क्रममा बालोदय माध्यमिक विद्यालय, पोखराका प्रधानाध्यापक टेक राज पौडेलले एनएसटीसीमार्फत विद्यार्थीले प्राप्त गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरले आफ्नो विद्यालयका विद्यार्थीहरूलाई क्लबप्रति आकर्षित गरेको बताए । उनले आफ्नो विद्यालयमा पछिल्लो समय धेरै विद्यार्थी पर्यटन क्लबमा आबद्ध भइरहेको जानकारी दिँदै यस्ता कार्यक्रमले विद्यार्थीको रुचि, आत्मविश्वास र सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

त्यसैगरी, जनप्रिय मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख श्रीकृष्णहरि बरालले आफ्नो क्याम्पसमा सञ्चालित एनएसटीसीका गतिविधिलाई प्राथमिकता दिँदै क्लबका लागि विशेष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गैँडाकोट नगरपालिकामा रहेका मौलाकालिका, केबलकार, मुकुन्द सेनको दरबार, हनुमानको मन्दिर लगायतका पर्यटकीय गन्तव्य समावेश गरेर पत्रकार श्रीधर उपाध्यायले तयार पारेको डकुमेन्ट्रीको प्रदर्शनसमेत भएको थियो। विद्यार्थीहरूले गैँडाकोट मन्दिर, केबलकार, इल्ला रिसोर्ट, हनुमान मन्दिर लगायतका पर्यटकीय गन्तव्यको भ्रमणसमेत गरे ।
कार्यक्रमको अन्तिम सत्रमा सहभागीहरूबीच सामूहिक छलफल तथा कार्ययोजना निर्माण गरिएको थियो। सो क्रममा एनएसटीसी गण्डकी मार्गचित्र २०२७ तयार गर्नुका साथै एनएसटीसी गण्डकी घोषणापत्र जारी गरिएको छ । क्लबहरूको नियमित सञ्चालन, विद्यालय तथा कलेजहरूबीच सहकार्य, स्थानीय सरकारसँग समन्वय, विद्यार्थी नेतृत्व विकास तथा समुदायमा आधारित दिगो पर्यटन गतिविधिलाई प्राथमिकतामा राखिएको छ ।
राष्ट्रिय दिगो पर्यटन क्लब कार्यक्रमले विद्यालय तथा कलेजका विद्यार्थीलाई पर्यटन शिक्षा, नेतृत्व विकास, वातावरण तथा सम्पदा संरक्षण र स्थानीय गन्तव्य प्रवद्र्धनमा सक्रिय सहभागी गराउने लक्ष्य राखेको छ। यस अभियानमार्फत युवालाई जिम्मेवार पर्यटनका अभियन्ताका रूपमा विकास गर्दै नेपालको दिगो पर्यटन विकासमा उनीहरूको योगदान बढाउने अपेक्षा रहेको टीआरटीआईका अध्यक्ष मदन बरालले बताएका छन् ।





