विराटनगर । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कोशी प्रदेश प्रहरीले सीमा नाकासहित विभिन्न स्थानमा सुरक्षा निगरानी र चेकजाँचलाई तीव्र बनाएको छ ।

तिहारलाई लक्षित गर्दै चोरी, लुटपाट, ठगी, लागूऔषधको ओसारपसार तथा अवैध विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्न प्रहरीले चाडपर्व सुरक्षा योजनाअनुसार प्रहरी परिचालन गरेको हो ।

विशेषगरी पटका तथा अन्य पटकाजन्य विस्फोटक पदार्थको बिक्रीवितरण, ओसारपसार र प्रयोग नियन्त्रण गर्न सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न स्थानमा तालिमप्राप्त कुकुरसहितको चेकजाँच टोली परिचालन गरी सवारीसाधन, शंकास्पद सामग्री तथा आवतजावत गर्ने व्यक्तिमाथि निगरानी बढाएको छ । चेकजाँचका क्रममा अवैधरूपमा भित्र्याइएका करिब १० लाख ७ हजार रुपैयाँभन्दा बढी मूल्यका पटकाजन्य विस्फोटक पदार्थ बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, चाडपर्वका समयमा घर तथा पसलको सुरक्षामा विशेष ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन र पटका तथा विस्फोटक पदार्थ प्रयोग नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

त्यस्तै, कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन सेवा नम्बर १०० मा जानकारी गराउन कोशी प्रदेश प्रहरीले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया