काठमाडौं । साउदी अरेबियाको पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौंबाट दमाम जाने र दमामबाट काठमाडौं फर्कने दुई उडान रद्द गरेको छ।
निगमले बिहीबार (नोभेम्बर ५) सूचना जारी गर्दै यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर उडान रद्द गर्ने निर्णय गरेको जनाएको हो।
निगमका अनुसार कात्तिक २१ गते काठमाडौं–दमाम (आरए २४१) र कात्तिक २२ गते दमाम–काठमाडौं (आरए २४२) उडान रद्द गरिएको छ।
साउदी अरेबियाको सुरक्षा अवस्थालाई निगमले नजिकबाट निगरानी गरिरहेको जनाएको छ। सुरक्षा स्थितिमा सुधार आएपछि आगामी उडानबारे आवश्यक जानकारी गराइने निगमले स्पष्ट पारेको छ।
रद्द भएका उडानका टिकट लिएका यात्रुले आफ्नो यात्राको मिति निःशुल्क परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ। त्यस्तै, यात्रा रद्द गरी रकम फिर्ता लिन चाहने यात्रुले टिकटको शतप्रतिशत रकम फिर्ता पाउनेछन्।
उडान रद्द हुँदा यात्रुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै निगमले थप जानकारीका लागि आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल तथा नजिकको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।





