काठमाडौँ, कात्तिक २० गते । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो ।

कर्णालीका लागि डेभिड मिलरले अविजित ९३ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । ५५ बल खेलेका मिलरले पाँच चौका र सात छक्का प्रहार गरे । जारी प्रतियोगितामा उनको यो उच्च व्यक्तिगत स्कोर हो ।

कर्णालीले सुरुआतदेखि नै विकेट गुमाएको थियो । पहिलो ओभरको दोस्रो बलमै अरिफुल इस्लामलाई शून्य रनमा गुमाएको कर्णालीले ३.२ ओभरमा दोस्रो विकेट गुमायो । मार्क वाट नौ बलमा चार रन बनाएर आउट भए । त्यसपछि दीपक डुम्रेले १२ बलमा १८ रन जोडे पनि चौथो ओभरको तेस्रो बलमा पभेलियन फर्किए ।

पावरप्लेमा तीन विकेट गुमाएर ३५ रन बनाएको कर्णालीले ८.५ ओभरमा चौथो विकेट गुमाउँदा ४६ रन बनाएको थियो । पवन सर्राफ १३ बलमा पाँच रन बनाएर आउट भए । हुसैन तलातले चार बलमा एक रनमात्र बनाउन सके ।

१० ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ५० रन बनाएको कर्णालीलाई त्यसपछि जितका लागि आवश्यक रनरेट निकै बढेको थियो ।

कप्तान सोमपाल कामी १५.४ ओभरमा आउट भए । १७ बल खेलेका उनले आठ रन बनाए । त्यसपछि गुल्सन झाले पाँच बलमा तीन रन बनाएर विकेट गुमाए । नन्दन यादव पाँच रनमा अविजित रहे ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिए । हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र अभिनाश बोहराले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

सुदूरपश्चिमले आक्रामक सुरुआत गर्दै पावरप्लेमा कुनै विकेट नगुमाई ६३ रन जोडेको थियो । विनोद भण्डारी र सैफ जइबले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरे । भण्डारी २२ बलमा २७ रन बनाएर ७.३ ओभरमा रनआउट भए । जइबले २४ बलमा ३५ रन बनाए ।

त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी १४ बलमा १० रन बनाएर । ब्रेन्डन म्याकमुलनले १६ बलमा २४ रन जोडे । ईशान पाण्डेले १३ बलमा २३ रन बनाए ।

अन्तिम ओभरतिर थारिन्दु रत्नायकेले आक्रामक ब्याटिङ गर्दै १२ बलमा अविजित २२ रन बनाए । स्कट कुगलेइनले छ बलमा अविजित १३ रन जोडे । दुवैले अन्तिमतिर रन गति बढाउँदै सुदूरपश्चिमलाई १७६ रनको योगफलसम्म पुर्‍याए ।

कर्णालीका मार्क वाटले दुई विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ र हुसैन तलातले एक–एक विकेट लिए ।

तपाईको प्रतिक्रिया