काठमाडौं । गायक जितेन्द्र श्रेष्ठ र गायिका मिना डुम्रे पाण्डेको स्वरमा रहेको ‘परदेशीको देउसी भैलो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतले परदेशमा रहेका नेपालीको चाडपर्वसँग जोडिएको एक्लोपन, परिवारप्रतिको सम्झना र बिछोडको पीडालाई समेटेको छ ।
अमेरिकाको बोस्टनमा बस्दै आएका गायक जितेन्द्र श्रेष्ठ र सुदीप पौडेलको शब्द सिर्जना रहेको उक्त देउसी भैलो गीतले विदेशमा रहेका नेपालीले दशैँ तथा तिहारजस्ता चाडपर्वमा भोग्नुपर्ने भावनात्मक पीडालाई उजागर गरेको छ ।
विशेषगरी तिहारमा दिदीबहिनी र दाजुभाइबीचको दूरी, परिवारसँगै बसेर चाडपर्व मनाउन नपाउँदाको अवस्था तथा गाउँघरको सम्झनामा बित्ने क्षणलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । विदेशमा रहेका दाजुभाइ र नेपालमा रहेका दिदीबहिनीबीचको बिछोड तथा आपसी सम्झनालाई भिडियोले भावनात्मक रूपमा चित्रण गरेको निर्देशकसमेत रहेका गायक श्रेष्ठले बताए ।
भिडियोमा अभिनेत्री अरुणा कार्की, लोकगायक मिन केसी, गायक श्रेष्ठ, गायिका पाण्डे, सुरेश गुरुगं, फत्ते गुरुगं, लगायत कलाकारको अभिनय देख्न सकिन्छ । गीतको एरेन्ज तथा कम्पोज प्रसाद खप्तरी मगरले गरेका हुन् ।
सिन्धु पोखरेल र जित चोपराले छायांकन गरेको भिडियोको सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन् । सोरंग ब्याण्डको पहिलो प्रस्तुतिका रूपमा रहेको गीत ब्याण्डकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
अमेरिकाको बोस्टनमा बसोबास गर्ने नेपालीहरू मिलेर नेपाली लोकगीत तथा संगीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले सोरंग ब्याण्ड स्थापना गरिएको गायक श्रेष्ठले बताए । ब्याण्डमा गायक जितेन्द्र श्रेष्ठ र शैलेन्द्र मुख्य भोकलिस्टका रूपमा रहेका छन् भने सारंगीवादक सुशील गौतम संरक्षकका रूपमा आबद्ध छन् ।
यस गीतको अर्को विशेष पक्ष सामाजिक सेवासँग पनि जोडिएको छ । ‘परदेशीको देउसी भैलो’बाट संकलन हुने सम्पूर्ण आम्दानी भोटेकोशी बाढीपीडित तथा गर्भवती महिलाहरूको सहयोगका लागि हस्तान्तरण गरिने जनाइएको छ । यसले नेपाली कला र संस्कृतिको प्रवर्द्धनसँगै मानवीय सेवाको सन्देशसमेत दिएको छ ।





