काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले चालू आव २०८३/८४ को पहिलो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले ३० करोड ४८ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ६ करोड ८८ लाख ९० थियो। कम्पनीको खुद मुनाफा ३४२.६ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ। कम्पनीले चालू आवको पहिलो तीन महिनामा ३ अर्ब २० करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको सञ्चालन आम्दानी करिब २८.८ प्रतिशतले बढेको हो।

कम्पनीको कुल नाफा पनि उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ६२ लाख ७९ हजार रुपैयाँ रहेको कुल नाफा चालू आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ५६ करोड १६ लाख ७९ हजार पुगेको छ।

त्यस्तै, कम्पनीको सञ्चालन नाफा १६ करोड ९१ लाख ५१ हजारबाट बढेर ४० करोड ५७ लाख १५ हजार रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च भने घटेको छ। गत वर्षको सोही अवधिमा ८ करोड ७२ लाख ३५ हजार रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा अवधिमा घटेर ४ करोड ३८ लाख ७२ हजारमा सीमित भएको छ।

कम्पनीको करअघिको नाफा ३६ करोड १८ लाख ४२ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ८ करोड १९ लाख १६ हजार रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीले ५ करोड ६९ लाख ८२ हजार रुपैयाँ आयकर खर्च छुट्याएको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६३ रुपैयाँ ९७ पैसा छ भने प्रतिसेयर नेटवर्थ ४८९ रुपैयाँ ५३ पैसा रहेको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ छ। समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति १४ अर्ब २६ करोड ५७ लाख पुगेको छ।

तपाईको प्रतिक्रिया