बनेपा । काभ्रेपलाञ्चोक जिल्लाका आठ स्थानीय तहमा सञ्चालित आयुर्वेद सेवा तथा कार्यक्रमको जिल्लास्तरीय समीक्षा एवं चालु आर्थिक वर्षको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा आर्थिक वर्ष २०८२/०८३ को भौतिक तथा वित्तीय प्रगति, सेवा प्रवाह, समस्या र आगामी योजनाबारे समीक्षा गरिएको थियो । धुलिखेल, मण्डनदेउपुर, रोशी, पनौती, बेथानचोक, भुम्लु र पाँचखालमा सञ्चालित आयुर्वेद औषधालय तथा नागरिक आरोग्य केन्द्रका प्रतिनिधिले सेवा तथा कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए ।कार्यालय प्रमुख उषा पौड्यालले संघीयतर्फ विनियोजित ६ लाख रुपैयाँ बजेटमध्ये ५ लाख ९९ हजार ६ सय रुपैयाँ खर्च भएको तथा स्थानीयतर्फ १० लाख ७५ हजार रुपैयाँमध्ये १० लाख ४५ हजार रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरिन् । सेवा विस्तार, पर्याप्त औषधि र समयसापेक्ष तालिमको अभावलाई प्रमुख चुनौतीका रूपमा औंल्याइएको थियो ।

समीक्षामा ओपीडी, योग शिक्षा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, पञ्चकर्म, शिरोधारा र निःशुल्क औषधि वितरणलगायतका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइयो । अधिकांश केन्द्रले पर्याप्त जनशक्ति, औषधि, बजेट, उपकरण, भवन तथा प्रविधिको अभावलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेका थिए ।रोशी गाउँपालिकाको मंगलटार आयुर्वेद शाखाले आर्थिक वर्ष २०८२/२०८३ मा संघीय सशर्त अनुदानतर्फ विनियोजित ६ लाख रुपैयाँमध्ये ५ लाख ९२ हजार ४ सय २३ रुपैयाँ खर्च गरी ९८.७३ प्रतिशत वित्तीय र ९६.९४ प्रतिशत भौतिक प्रगति हासिल गरेको विवरण प्रस्तुत गरेको थियो । शाखाबाट वर्षभरि ओपीडी सेवा, ज्येष्ठ नागरिकलाई रसायन औषधि वितरण, स्नेहन तथा स्वेदन सेवा, स्थानीय जडीबुटीसम्बन्धी कार्यक्रम र विद्यालय आयुर्वेद तथा योग शिक्षा सञ्चालन हुँदै आएको बरिष्ठ बैद्य रौशन रायले बताए ।

गोष्ठीले आयुर्वेद सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्दै आगामी कार्यक्रमलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया