बाबुराम कार्की
सुनसरी, कात्तिक २० गते । धरानको सुकुटीको स्वादले सुकुटी पारखीहरूको मुख रसाउने गरेको छ । पछिल्लो समय धरानमा सुकुटी मात्रै उत्पादन हुने गरेको छैन, सुकुटीबाटै स्वादिलो अचार बनाएर बिक्री गर्ने चलनसमेत बढ्दै गएको छ ।
धरानको निकेतन गल्ली सुकुटीको व्यापारिक केन्द्रका रूपमा परिचित हुँदै गएको छ भने यहाँ उत्पादित सुकुटी र अचार विदेशमा रहेका आफन्तसम्म पुग्ने गरेको छ ।
धरानको निकेतन गल्लीमा सुकुटी पसल बाक्लै छन् । बिहानदेखि बेलुकासम्म सुकुटी किन्न आउने ग्राहकको चहलपहल हुने गरेको स्थानीय प्रविन श्रेष्ठ बताउनुहुन्छ । स्थानीय बजारमा सुकुटीको माग राम्रो रहेको र विदेशमा रहेका आफन्तलाई पार्सलका रूपमा पठाउनसमेत सुकुटी तथा अचार किन्ने गरिएको उहाँले बताउनुभयो ।
धरान–१३ फुस्रे बजारमा रहेको शान्ति बफ सुकुटी उद्योगले पनि सुकुटीको अचार उत्पादन र बिक्री गर्दै आएको छ । उद्योगका सञ्चालक ७१ वर्षीय कुन्दन सुब्बाका अनुसार करिब २५ वर्षअघि घरबाट सुरु गरिएको व्यवसाय अहिले उद्योगका रूपमा सञ्चालन भइरहेको छ ।
उद्योगमा राँगाको मासु ल्याएर सुकुटी बनाउने र त्यसबाट अचार बनाएर बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो । सुकुटीको अचारमा स्थानीय स्वाद पाइने भएकाले ग्राहकले खोजी गरेरै उद्योगमै आउने गरेको सुब्बाको भनाइ छ ।
उद्योगले अहिले १२ जनालाई रोजगारीसमेत दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले सुकुटीको अचार प्रतिकिलो दुई हजार आठ सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ । करिब २५ वर्षअघि प्रतिकिलो चारदेखि पाँच सय रुपियाँ पर्ने सुकुटीको मूल्य अहिले बढेको उहाँले बताउनुभयो ।
धरानको सुकुटी र अचार बेलायत (यूके)मा रहेका आफन्तलाई पठाउने गरेको स्थानीय पत्रकार रोहित राई बताउनुहुन्छ । उहाँका अनुसार धरानबाट सुकुटी र अचार किनेर विदेशमा रहेका आफन्तलाई पार्सल पठाउने गरिएको छ । धरानको सुकुटीको स्वाद राम्रो भएकाले स्थानीय बजारमा मात्र सीमित नरहेको उहाँको भनाइ छ ।
धरानमा सबै सुकुटी उत्पादक भने व्यावसायिक उद्योगकै रूपमा सञ्चालनमा रहेका छैनन् । धरानका ६३ वर्षीय वीरबहादुर तामाङले घरमै सुकुटी तयार गरी मागअनुसार चिनजानका ग्राहकलाई बिक्री गर्दै आउनुभएको छ ।
उहाँले ठुलो परिमाणमा उत्पादन नगरी ग्राहकको अर्डरअनुसार सुकुटी बनाउने गरेको बताउनुभयो । तामाङका अनुसार अहिले राँगाको मासु प्रतिकिलो करिब सात सय ५० रुपियाँ पर्छ । “राम्रो मासु भए चार किलोबाट एक किलो सुकुटी तयार हुन्छ, राम्रो मासु परेन भने एक किलो सुकुटीको लागि साढे चार किलोसम्म मासु लाग्छ,” उहाँले भन्नुभयो ।
घरमै तयार गरेको सुकुटी प्रतिकिलो तीन हजार रुपियाँमा बिक्री गर्ने गरेको उहाँको भनाइ छ । सुकुटी उत्पादनमा मासुको मूल्यसँगै दाउरा, सुकाउने प्रक्रिया र श्रमको लागतसमेत जोडिने भएकाले व्यवसायीलाई नाफा कमाउन चुनौती रहेको तामाङ बताउनुहुन्छ ।
गुणस्तरीय सुकुटी तयार गर्न राम्रो मासु, उचित प्रशोधन र स्वादमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । परम्परागत रूपमा घरघरमा बनाइने सुकुटी पछिल्लो समय व्यावसायिक उत्पादन र अचार उद्योगसँग जोडिँदै गएको छ ।
स्थानीय स्वाद, बढ्दो ग्राहकको आकर्षण र रोजगारीको अवसरले धरानको सुकुटी व्यवसाय बढ्दै गएको बताइएको छ । इनरुवा नगरपालिका–३ का इन्द्रबहादुर राईले धरानबाटै सुकुटी किनेर बेलायत (यूके) मा रहेका छोरालाई पठाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो छोरालाई मात्रै होइन, यूकेलगायत अन्य देशमा रहेका आफन्त र नेपालीहरूले पनि धरानको सुकुटी मन पराएर पार्सलमार्फत पठाउने गरेका छन् ।”
-गोरखापत्र अनलाइन बाट साभार





