काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले प्रमुख श्रम गन्तव्य मलेसियामा नेपाली श्रमिक पठाउन उत्पन्न गतिरोधका सम्बन्धमा छलफलका लागि मलेसियालाई दुईवटा मिति प्रस्ताव गरेर पत्र पठाएको छ । मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा २५ म्यानपावर कम्पनीलाई मुख्य र २५० कम्पनीलाई सहायक एजेन्सीका रूपमा रजिस्टर गर्ने निर्णय अस्वीकार गर्दै जवाफ पठाएको नेपालले त्यसपछि उत्पन्न जटिल परिस्थितिको निकासका लागि छलफल गर्न पत्र पठाएको बताइएको छ ।
नेपाल र मलेसियाबीच समस्या समाधानका लागि गठन भएको ‘जोइन्ट वर्किङ ग्रुप’ (जेडब्लुजी)को बैठकका लागि मन्त्रालयले आगामी नोभेम्बर महिनाको १८ र १९ तारिख अर्थात् मंसिर २ र ३ गते वा डिसेम्बर २ र ३ तारिख अर्थात् मंसिर १६ र १७ गतेमध्ये एक मितिमा वार्ता गर्न प्रस्ताव गरेको श्रम मन्त्रालयले जनाएको छ । नेपालले सोमबार मलेसियालाई उक्त पत्र पठाएको हो । मलेसियाका तर्फबाट जवाफ आइसकेको छैन ।
मन्त्रालयले एफडब्लुसिएमएसले गरेको २७५ म्यानपावर कम्पनीको छनोटलगायतका विषयलाई एजेन्डाका रूपमा प्रस्ताव गरिएको बताएको छ । मन्त्रालयका सहायक प्रवक्ता जगदीश पराजुलीले बैठकसम्बन्धी पत्रको सकारात्मक जवाफको प्रतीक्षा भइरहेको बताएका छन् ।
नेपाल इजाजतप्राप्त सबै म्यानपावर कम्पनीबाट मलेसियामा श्रमिक जान पाउनुपर्ने पक्षमा छ । केही समयअघि प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाली समकक्षी अनवर इब्राहिमबीच नेपाली श्रमिक भर्नामा बिचौलिया तथा सिन्डिकेट अन्त्य गर्ने विषयमा छलफल भएको सार्वजनिक भएको थियो ।
सिन्डिकेट र बिचौलियाले कामदारलाई हानि पु¥याउने भन्दै प्रधानमन्त्री शाहले दुवै देशका श्रममन्त्रीबीच प्रत्यक्ष वार्ताका माध्यमबाट समस्याको समाधान गर्नसमेत आह्वान गरेका थिए । तर, मलेसियामा नेपाली श्रमिकको भर्ना प्रक्रियाका विभिन्न चरण अवरुद्ध भए पनि गतिरोध अन्त्य भएको छैन ।





