झापा, ११ कात्तिक । चाडपर्वको समयमा हुन सक्ने अवैध ओसारपसार नियन्त्रण गर्ने अभियानअन्तर्गत झापामा ३ लाख १६ हजार ५९० रुपैयाँ बराबरका विभिन्न प्रकारका पटका बरामद गरी नष्ट गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापा तथा मातहतका कार्यालयले सीमा क्षेत्रमा गरेको गस्ती र चेकजाँचका क्रममा ती पटका बरामद गरेको जनाएको छ। भारतबाट भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याउन खोजिएका तथा लुकाइछिपाइ राखिएका अवस्थामा पटका फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको उपस्थितिमा नष्ट गरिएको गणले जनाएको छ। पटका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। उक्त मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्री भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राखेर सशस्त्र प्रहरीले निगरानी बढाएको छ। विभिन्न सीमा नाका तथा चेकपोइन्टमा नियमित गस्ती, सवारीसाधन जाँच र अनुगमनलाई निरन्तरता दिइएको जनाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टका अनुसार जिल्लामा अवैध गतिविधि नियन्त्रण गर्नुका साथै चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरी परिचालनलाई प्रभावकारी बनाइएको छ।

सीमा क्षेत्रमा हुने चोरीपैठारी, अवैध आयात तथा अन्य गैरकानुनी गतिविधि रोक्न मातहतका कार्यालयलाई थप सतर्कताका साथ परिचालन गरिएको गणले जनाएको छ। नियमित निगरानी र जाँचलाई प्रभावकारी बनाउँदै सीमाबाट हुने अवैध कारोबार नियन्त्रण गर्ने प्रयास जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया